: बिरुवा गाउँपालिका – ६ लेवामा भरुवा बन्दुक र सोसंग सम्बन्धित सामग्री प्रहरीले फेला पारेको छ। प्रहरी टोलीले ७२ वर्षीय रामबहादुर सुनारको घरबाट बन्दुकसहित सामाग्री बरामद गरेको जनाएको छ।
घर खानतलासीका क्रममा भरुवा बन्दुकको मर्मत कार्य भइरहेको अवस्थामा बन्दुकसहित गोली–बारुदका सामग्री भेटिएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए।
एउटा एकनाले भरुवा बन्दुक, दुई वटा नाल भएको तर पाट पुर्जा जडान नभएको भरुवा बन्दुक र एउटा नाल नभएको पाटपुर्जा जडान नभएको भरुवा बन्दुक छन्। यसैगरी, फलामे रड चार वटा, भरुवा बन्दुकको छुच्ची छ वटा, बारुद १४२ ग्राम, सिसाका छर्रा १०७ वटा, केप छ वटा र वारुद बनाउन प्रयोग हुने सोडा एक किलो भेटिएको प्रनाउ चौधरीको भनाई छ।
यसका साथै भरुवा बन्दुक बनाउन प्रयोग हुने फलामको घोडा तीन वटा, चिम्टी दुई वटा, फलामको किला चार वटा र फलामको चाप एउटा रहेको बताइएको छ। ती सामाग्री सहित सुनारलाई पक्राउ गरी हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा आवश्यक कानूनी कारबाही प्रक्रियाअघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।