: दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिमा रकम भुक्तानी नहुँदा आर्थिक संकट हुन थालेको छ। बिमा बापतको झन्डै १४ करोड रुपैयाँ भुक्तानी नहुँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान आर्थिक संकटमा परेको अस्पताल प्रशासनले जनाएको छ।
सरकारबाट स्वास्थ्य बिमा सेवा बापतको करिब १४ करोड रुपैयाँ भुक्तानी नहुँदा प्रतिष्ठान गम्भीर आर्थिक संकटमा फसेको प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक डा. श्याम लम्सालले बताए। लामो समयदेखि बिमा रकम नआउँदा दैनिक कार्य सञ्चालनमै समस्या देखिन थालेको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका रजिस्ट्रार लम्सालका अनुसार कार्तिक मसान्तसम्मकै करिब ११ करोड रुपैयाँ बिमा रकम भुक्तानी हुन बाँकी छ भने मंसिर र पुस महिनाको करिब ३ करोड रुपैयाँ रहेको छ। कुल बक्यौता करिब १४ करोड रुपैयाँ पुग्ने अवस्था छ।
उनले स्वास्थ्य बिमा बोर्डसँग पटक–पटक पत्राचार तथा समन्वयको प्रयास गरिँदै आए पनि हालसम्म उल्लेखनीय रकम भुक्तानी नहुँदा समस्या झनै जटिल बन्दै गएको बताए। ‘अब प्रतिष्ठानले यो अवस्थालाई थप समय थेग्न नसक्ने स्थिति आएको छ,’ रजिस्ट्रार लम्सालले भने, ‘अब सेवा बन्द गर्नुपर्ने अवस्था आउन सक्छ।’
बिमा सेवाबापतको ठूलो रकम लामो समयसम्म नआउँदा औषधि आपूर्तिकर्ताहरूले समेत औषधिजन्य सामग्री उपलब्ध गराउन असमर्थता जनाउन थालेका उनले बताए। यसले बिमाबाट उपचार गराइरहेका बिरामीहरूको सेवा प्रत्यक्ष रूपमा प्रभावित हुने जोखिम बढेको भन्दै अस्पताल प्रशासनले आर्थिक संकट हटाई बिमा रकम भुक्तानी गरिदिन आग्रह गरेको छ।
यदि चाँडै बिमा रकम भुक्तानी नभएमा बिमा अन्तर्गतका उपचार सेवा अवरुद्ध हुन सक्ने र यसले सर्वसाधारण बिरामीहरूलाई ठूलो असर पार्ने प्रतिष्ठानको चेतावनी समेत छ। रजिस्ट्रार लम्सालले सम्बन्धित निकाय, सरकार तथा सरोकारवालाहरूलाई बिमा रकम भुक्तानीका लागि तत्काल पहल गरिदिन आग्रह समेत गरेका छन्।