: नवलपरासीमा रहेका नेपाली कांग्रेस संस्थापन पक्ष(देउवा पक्ष)का केही नेताहरूले विशेष महाधिवेशनमा सहभागी नहुनका लागि दबाब दिए पनि अन्ततः नवलपरासीबाट ६० प्रतिशत महाधिवेशन प्रतिनिधि काठमाडौं हिँडेका छन्।
संस्थापन पक्षका केही नेताहरूले यसअघि विशेष महाधिवेशन आह्वानका लागि हस्ताक्षर गर्ने प्रतिनिधिलाई हस्ताक्षर फिर्ता गराउन दबाब दिएका थिए। दबाबका कारण तीन जनाले फिर्ता लिए पनि अन्यले फिर्ता लिन मानेका थिएनन्। विशेष महाधिवेशनका लागि भएको हस्ताक्षर संकलनमा जिल्लाबाट ३३ जनाले हस्ताक्षर गरेका थिए।
दबाबका कारण ३ जनाले हस्ताक्षर फिर्ता लिए पनि अन्यले नमानेकाले अहिले उत्साहजनक रूपमा प्रतिनिधिहरू शनिबार दिउँसो काठमाडौं हिँडेका जिल्ला प्रवक्ता राधेश्याम पाठकले जानकारी दिए। जिल्लाका दुई निर्वाचन क्षेत्रबाट ५३ जना महाधिवेशन प्रतिनिधि चुनिएका थिए।
जसमा अर्कै दलबाट चुनाव लडेर पार्टी छाडेका एक, राजीनामा दिएका एक र अर्का एक जनाको कारबाही फुकुवा भए पनि पद कायम नरहेकाले हाल ५० जना प्रतिनिधि कायम छन्। जसमा क्षेत्र नम्बर १ मा २४ र क्षेत्र नम्बर २६ जना रहेका छन्। तीमध्ये क्षेत्र नम्बर १ बाट १९ र क्षेत्र नम्बर २ बाट ११ जना गरी ३० जना प्रतिनिधि सहभागीका लागि काठमाडौं हिँडेको जिल्ला सचिव उमेश यादवले बताए।
पार्टीभित्र दुई गुट कायम रहेका बेला ती गुटहरूसँग असन्तुष्ट रहेका जिल्लाका नेताहरूले महिना दिनअघि महामन्त्री गगन थापाको तेस्रो गुट घोषणा गरेका थिए। पछिल्लो समय दुई गुटका कारण जिल्लामा अहिले गगन थापा गुटको बर्चस्व देखिएको छ।