: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको निर्णायकत्व मुलुकभित्रकै राजनीतिक दलहरूको हातमा ल्याउन नयाँ समझदारी जरुरी रहेको बताएका छन्। शनिबार काठमाडौंमा राप्रपा टोखा नगर अधिवेशन उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले नेपालमा मन्त्री बनाउनेदेखि चुनावमा जित्ने दल र गठबन्धन समेतको योजना विदेशीहरूले बनाउन थालेको बताएका हुन्।
भदौ २३ र २४ गतेको घटनाले नेपालको निर्णायकत्व मुलुकको राजनीतिक दलको हातमा नरहेको प्रमाणित भएको उनको भनाइ छ। उनले बाह्य शक्तिको अस्वस्थ प्रतिस्पर्धाले नेपाल गम्भीर भूराजनीतिक चक्रव्यूहमा फसेको र यसबाट देशलाई नजोगाए नेपालको अस्तित्वमा समेत खतरा पैदा हुने संकेतहरू देखिन थालेको धारणा राखे।
अध्यक्ष लिङ्देनले चुनाव अगाडि नै राजा, राजनीतिक दल र जेनजीहरूका बीचमा अथवा नयाँ पुस्ताका बीचमा नभए युवाहरूका बीचमा एउटा नयाँ समझदारी कायम हुनुपर्नेमा जोड दिए। कुनै पनि शक्ति पाखा नपर्ने, कसैले जित्ने–हार्ने नभइ देशले जित्ने नयाँ र मौलिक व्यवस्था निर्माण गरेर मात्रै चुनावमा जानुपर्ने उनको भनाइ छ।