: अर्घाखाँचीको सन्धिखर्कमा आजदेखि सातौं अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन संस्कृति औद्योगिक तथा व्यापार मेला सुरु भएको छ। अर्घाखाँची चेम्बर अफ कमर्सको आयोजनामा सन्धिखर्कको कुँडुले फाँटमा आउँदो माघ ११ गतेसम्म सञ्चालन हुने महोत्सवको आज उद्घाटन गरिएको छ।
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने तथा जिल्लाका पर्यटकीय क्षेत्रलाई टेवा पुर्याउने उद्देश्य सहित महोत्सवको आयोजना गरिएको अर्घाखाँची चेम्बर अफ कमर्सका अध्यक्ष अशोक श्रेष्ठले बताए।
महोत्सवको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री दिनेश पन्थीले मेला महोत्सवले स्थानीय उत्पादनलाई बढवा दिनु पर्ने बताए।
३ सय स्टल रहने मेलामा ५० हजार दर्शकले अवलोकन गर्ने र ५ करोड बराबरको कारोबार हुने आयोजकले अनुमान गरेको छ।
जिल्लामा उत्पादन भएका रैथाने खाना, फलफूल तथा उत्पादित बस्तुको बिक्री वितरण गर्न तथा धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गरी पर्यटन भित्राउन र जिल्लालाई चिनाउनका लागि महोत्सवले भूमिका खेल्ने अपेक्षा गरिएको सचिव प्रेम थापाले बताए। ऐतिहासिक धार्मिक सांस्कृतिक र प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्नुको साथै कृषि उपज, हस्तकला, घरेलु तथा साना उद्योगका उत्पादनलाई बजारसँग जोड्ने मूल उदेश्यले महोत्सव सञ्चालन गरिएको हो।