: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका लागि तम्तयार अवस्थामा रहन र आवश्यक तयारीलाई तीव्रता दिन आह्वान गरेका छन्। केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ढिलो चाँडो मुलुक निर्वाचनमा जाने भन्दै उनले त्यसका लागि पार्टी हमेशा तैनाथी र तम्तयार अवस्थामा रहनुपर्ने बताएका हुन्।
ʻपार्टी के कुरामा स्पष्ट छ भने ढिलो चाँडो मुलुक निर्वाचनमा जाने नै छ। त्यसका लागि पार्टी हमेशा तैनाथी र तम्तयार अवस्थामा रहनुपर्छ,ʼउनले भने,ʻकेन्द्रीय कमिटीको यो बैठक सिङ्गो पार्टी पङ्क्तिलाई निर्वाचनका लागि हमेशा तम्तयार अवस्थामा रहन र यसका लागि आवश्यक तयारीलाई तीव्रता दिन आह्वान गर्दछ।ʼ
अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक निर्वाचनबाट कहिल्यै नपञ्छिने र पिठ्यूँ नफर्काउने बताए। उनले फागुन २१ गतेका लागि प्रस्तावित निर्वाचनको वातावरण सरकारले बनाउन नसकेको बताए।
उनले भने,ʻतर भदौ २४ गते भगाइएका कैदीहरू मध्ये ५ हजार भन्दा बढीलाई बाहिरै राखेर, लुटिएका आधुनिक हतियार मध्ये ७ सयभन्दा बढी हतियार र हजारौँ राउण्ड गोली बाहिरै राखेर अनि त्यसै पनि मनोबल खस्किएको सुरक्षा निकायलाई प्रत्यक्ष, परोक्ष कारबाही र अन्य क्रियाकलापबाट अझ बढी मनोबल खस्काउँदै भदौ २४ को विध्वंशमा सङ्लग्न र पछि पनि विभिन्न अपराधकर्ममा लागेकाहरूमाथि अनुसन्धान, तहकिकात र अभियोजन गर्न बाधा सिर्जना गरेर सरकारले कसरी भयरहित निर्वाचनको प्रत्याभूति गर्न सक्छ ?ʼ
अध्यक्ष ओलीले आफूहरूले यो विषय उठाइरहेको भएपनि अझै निर्वाचनको सुनिश्चित र निर्भयताको वातावरण नबनेको बताए।