: सुनसरीको धरान उपमहानगरपालिकाका होटल तथा रेष्टुरेन्टहरूमा प्रहरीको घुमुवा भन्दै चन्दा असुली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानको टोलीले शनिबार राति धरान–१८ स्थित होटलहरूमा चन्दा उठाउँदै गरेको अवस्थामा नक्कली प्रहरीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका–७ का ३५ वर्षीय धन बहादुर राई रहेका इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबबु राईले बताएका छन्। धनबहादुरले आफू इलाका प्रहरी कार्यालय धरानको घुमुवा भएको भन्दै होटलमा रकम असुली गरेको पाइएको प्रहरीले जनाएको छ। होटल व्यवसायीहरूले उनको गतिविधिप्रति शंका लागेपछि इलाका प्रहरी कार्यालय धरानमा जानकारी गराएका थिए। प्रहरीले अनुसन्धान गर्दा उनी नक्कली प्रहरी रहेको खुलेको प्रहरीले बताएको छ।
पक्राउ परेका धनबहादुरको साथबाट प्र–१–०२–०५९ प ३०७६ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको डिएसपी राईले बताए। पक्राउ परेका धनबहादुरलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ।