: गृहमन्त्री ओम प्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताएका छन्। शुक्रबार ललितपुरमा सुरू भएको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले सो कुरा बताएका हुन्।
कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै गृहमन्त्री अर्यालले वर्तमान सरकारको पहिलो म्यान्डेट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु र दोस्रो म्यान्डेट जेनजी जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई व्यवहारिक रुपमा मूर्तरुप दिनु रहेको बताए।
मन्त्री अर्यालले सरकार निर्वाचनमा होमिइसकेकाले तोकिएको मितिमा नै निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरे । जेनजी जनआन्दोलन सुशासन कायमका लागि भएको र सुशासन कायम राख्न सरकार कटिवद्ध रहेक उनको भनाइ छ।
तोकिएको मितिमा निर्वाचन नभए देशले संकट सामना गर्नुपर्ने अवस्था आउनसक्ने बताउँदै मन्त्री अर्यालले सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने र यसमा सबैपक्षको सहयोग आवश्यक रहेको बताए।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बहादुर बानियाँले सरकारमा रहेका मन्त्रीहरूका गतिविधिले निर्वाचनको वातावरण बिगार्न सक्नेतर्फ सचेत गराउँदै स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई साधन स्रोतमा सम्पन्न बनाउनपर्ने विषयमा जोड दिए।
मुख्यमन्त्री बानियाले अहिलेको निर्वाचनमा विगतका निर्वाचनको समयमा जस्तो भय र त्रासको वातावरण नभएको तर अविश्वासको वातावरण भने कायम रहेको बताए।