: कांग्रेसका विद्यार्थी नेताहरूले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न आग्रह गरेका छन्। शुक्रबार नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरूको टोलीले सभापति देउवालाई एकता र मेलमिलापको पहल गर्न आग्रह गरेको हो।
उनीहरूले विगतमा आन्तरिक विवाद र झगडाकै कारण पार्टीले भोग्नुपरेको फुटको पीडादायी अनुभव स्मरण गराउँदै यस्ता अवस्थाबाट समयमै सचेत हुन आवश्यक रहेको बताएका थिए। पार्टीभित्र बढ्दै गएको असमझदारीले संगठनात्मक एकतालाई कमजोर बनाउने खतरा रहेको उनीहरूको भनाइ छ।
वर्तमान राजनीतिक चुनौतीको सामना गर्न नेपाली कांग्रेसलाई एकढिक्का बनाएर संवाद, सहकार्य र मेलमिलापको प्रक्रियामार्फत अघि बढ्नुपर्ने धारणा सभापति देउवासमक्ष राखिएको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य आशिष देवकोटाले जानकारी दिए। युवा नेताहरूले पार्टीलाई मजबुत, अनुशासित र जनमुखी बनाउने दायित्व सबै तहका नेता तथा कार्यकर्ताको साझा जिम्मेवारी भएकोमा जोड दिएका थिए।