: लौरो अभियान, स्वतन्त्र अभियान र जेनजी अभियानले लौरो चुनाव चिह्नलाई राजनीतिक दलको चिन्हका रूपमा प्रयोग नगर्न माग गरेको छ।
उनीहरूले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसअघिको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारहरूले प्रयोग गरेको चुनाव चिह्नलाई राजनीतिक दलको चिन्हका रूपमा प्रयोग नगर्न माग गरेका हुन्। स्वतन्त्र चुनाव चिन्ह लौरोलाई काठमाडौं महानगर प्रमुख बालेन शाहले राजनीतिक बार्गेनिङको हतियारका रूपमा प्रयोग गरेको देखिएको उनीहरूको आरोप छ।
रास्वपमा प्रवेश गरेसँगै लौरो चुनाव चिह्न बालेनको हुन नसक्ने भएकाले उक्त चुनाव चिन्ह स्वतन्त्र समूहलाई सम्मानजनक रूपमा फिर्ता गर्न माग गरिएको लौरो अभियानका डम्बर साहुले बताए। उनले लौरो चुनाव चिन्ह स्वतन्त्रहरूको प्रतीक मात्र नभई आस्था, धरोहर र स्वतन्त्रहरूको मन्दिरसमेत भएको बताए।
उनीहरूले लौरो अभियान वा लौरो चुनाव चिन्हलाई व्यक्तिवादी कब्जा र सौदाबाजीबाट मुक्त राख्न कुनै पनि मूल्य चुकाउन तयार रहेको धारणा राखेका छन्। एक साताभित्र उक्त ुनाव चिन्ह फिर्ता नभए बालेन शाहको घर/कार्यालयको गेटमा नै विरोध तथा धर्नाका कार्यक्रम गर्ने उनीहरूले जनाएका छन्।