: प्रहरीले जिल्लाको तीन फरक-फरक स्थानबाट लागुऔषधसहित चारजनालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको छ । प्रहरीले यशोधरा गाउँपालिका -५ मुडिला चोकमा भारतबाट नेपाल तर्फ आउँदै गरेका लु ६१ प ३५७० नम्बरको मोटरसाइकल सवार मायादेवी गाउँपालिका -३ का ३५ वर्षीय अमर नाथ तिवारीलाई लागुऔषध ट्याबलेटसहित पक्राउ गरेको हो ।
प्रहरीले चेकजाँच गर्दा उनको साथबाट ७० थान लागुऔषध ट्याबलेट बरामद गरिएको जनाएको छ । यसैगरी शुद्धोधन गाउँपालिका -६ गौरीगंजका २४ वर्षीय अतिकुर रहमानलाई लागुऔषध सहित प्रहरी चौकी हथिहवाको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका रहमानको साथबाट प्रहरी टोलीले १६ ट्याबलेट लागुऔषध फेला परेको जनाएको छ ।
वाणगंगा नगरपालिका -२ तिनैया बस्ने २३ वर्षीय सुरेश थारु र सोही स्थानका ३१ वर्षीय दानबहादुर चौधरीलाई प्रहरीले लागुऔषध कारोवार गरिरहेको अवस्थामा पक्राउ गरेको छ । सुरेश थारुको घरबाट लागुऔषधको कारोवार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराको प्रहरी टोलीले खोजतलास गर्ने कम्रमा २ सय ७० मिलिग्राम लागुऔषध व्राउन सुगर बरामद गरेको छ ।
पक्राउ परेका चारैजनालाई जिल्ला अदालतबाट म्याद थप गरी विशेष अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए । यसरी पक्राउ परेका चारजना पछाडि अन्य कारोवारी र लागुऔषध सेवनकर्ताहरूको जालो हुनसक्ने भन्दै त्यसलाई तोड्न जिल्लाभर सघन ढंगबाट प्रहरी परिचालन गरिएको छ,'प्रहरी नायब उपरीक्षक सिंहले भने,'लागुऔषधजस्तो जघन्य अपराधको विषयमा प्रहरीले शून्य सहनशीलता अपनाएको छ ।'