— धरानका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आगामी प्रतिनिधिसभा चुनाव सुनसरी क्षेत्र नम्बर १ बाट उठ्ने भएका छन् ।
बुधबार सामाजिक सञ्जालबाट मेयर साम्पाङले आफू सुनसरी १ बाटै उठ्ने घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु ! जय माटो ! जय देश !'
२०७९ को स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर गठबन्धनका उम्मेदवारलाई हराएका थिए । उनले २० हजार ८ सय २१ मत ल्याउँदा तत्कालीन कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार किशोर राईले १६ हजार ५९ मत पाएका थिए । त्यस्तै एमाले उम्मेदवार मञ्जु भण्डारी सुवेदीले भने १२ हजार ८ सय २५ मत पाएकी थिइन् । उपमेयरमा भने गठबन्धनबाट माओवादी उम्मेदवार अइन्द्रविक्रम बेघा २० हजार ५ सय १० मतसहित विजयी भएका थिए ।
साम्पाङको रोजाइमा सुनसरी १ नै किन ?
सुनसरी निर्वाचन क्षेत्र १ मा धरान उपमहानगरका सबै वडा पर्दछन् । गत स्थानीय चुनावमा धराने जनताले पत्याएका कारण पनि साम्पाङको रोजाइमा यही क्षेत्र परेको हो ।
उनी धराने जनताको विश्वास जितेर संघीय संसद्को यात्रामा जाने दाउमा छन् । सुनसरी क्षेत्र नम्बर-१ मा धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिकाको १–५ वडा र रामधुनी नगरपालिकाको ६ र ७ वडा समेटिएको छ । मेयर हुँदा गरेका कामका आधारमा नै आफूले चुनाव जित्ने साम्पाङले दाबी गर्दै आएका छन् ।
यस्तो थियो ०७९ को चुनावी परिणाम
सुनसरी १ मा २०७९ को प्रतिनिधिसभा चुनावमा जसपा नेपालका नेता अशोक राई विजयी भएका थिए । उनले १७ हजार ५९ मत ल्याएका थिए । उनलाई रास्वपा उम्मेदवार गोमा तामाङले टक्कर दिएकी थिइन् । उनले १६ हजार ६ सय ६ मत ल्याएकी थिइन् । तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाले पनि १३ हजार ८७ मत ल्याएका थिए ।