— फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पामा नेकपा (माओवादी)बाट महासचिव नेत्रविक्रम चन्द एकल उम्मेदवार सिफारिस भएका छन् ।
बुधबारको जिल्ला कमिटी बैठकले रोल्पाबाट प्रत्यक्षतर्फ महासचिव चन्दलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको पार्टीका जिल्ला सचिव पृथ्वी बिक्रम डाँगीले जानकारी दिए । 'बुधबार बसेको जिल्ला कमिटीको बैठकले उहाँको नाम सर्वसम्मत चयन गरेको हो । अब उहाँ एकल उम्मेदवार बन्नुहुनेछ,' उनले भने ।
चन्द रोल्पाको इरिबाङ केवरी गाउँमा जन्मेका हुन् । तर बसाइँसराइपछि हाल उनको बसोबास कपिलवस्तु जिल्लामा छ । तत्कालीन माओवादी सशस्त्र द्वन्द्वमा लामो समय विभिन्न जिम्मेवारीको नेतृत्व गरेका उनी शान्ति प्रक्रियापछि कुनै लाभको पदमा पुगेनन् । यसबीच पटकपटक पार्टी फुटपछि उनले हाल नेकपा (माओवादी) को नेतृत्व गरिरहेका छन् ।