: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र केही विदेशी शक्तिहरू निर्वाचन सार्ने षडयन्त्रमा लागिपरेको बताएका छन्। मंगलबार बिहान बसेको एमालेको सचिवालय बैठकमा अध्यक्ष ओलीले कांग्रेस र एमाले नजिकिएपछि सरकार आफैं निर्वाचन सार्ने षडयन्त्र गरिरहेको बताएका हुन्।
बैठकमा अध्यक्ष ओलीले एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू आफै निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गरिरहेको बताएको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
ओलीको भनाइलाई उदृध गर्नै उनले भने,' निर्वाचनको वातावरण बन्याजस्तो छ। यसको तयारी हामीले गर्नुपर्छ। निर्वाचनलाई आन्दोलनकै रुपमा लिनुपर्छ। सरकारको जुन गतिविधि छ यसले निर्वाचनमा अन्योलता देखाएको छ। एकैपटक निर्वाचन गर्नसक्ने अवस्था पनि छैन। अर्थात् पर पनि सार्न सक्छ। खण्डखण्डमा गर्न सक्छ। त्यसको लागि हामीले मनोवैज्ञनिक तरिकाले तयारीमा रहनुपर्छ।'
उनका अनुसार अध्यक्ष ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई समेत निरन्तर दबाब र धम्की दिने र संसद पुनस्थापना हुन नदिने कार्यमा दबाब दिइरहेको उल्लेख गर्दै यसले लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रश्न उठाएको धारणा राखेका थिए।