— एमाले सचिव महेश बस्नेत भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवार सिफारिस भएका छन् ।
भक्तपुर जिल्ला कमिटी बैठकले उनलाई एकल सिफारिस गरेको हो । अध्यक्ष बचन देउजाले सचिव बस्नेतको एकल सिफारिस भएको बताए ।
गत २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी भक्तपुर-२ बाटै उम्मेदवार भएका बस्नेत कांग्रेसका दुर्लभ थापासँग पराजित भएका थिए । थापा २४ हजार २ सय ३९ मतसहित विजयी भएका थिए भने बस्नेतले २३ हजार २ सय ८२ मत पाए ।
२०७४ मा भने उनले कांग्रेसका दमननाथ ढुंगानालाई पराजित गरी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
भक्तपुर–२ मा विसं २०४६ मा बहुदल पुनःस्थापनापछि कांग्रेस र नेमकिपाले पालैपालो जित्दै आएका छन् । २०४८ मा कांग्रेसका जगनाथ आचार्य विजयी भएको यस क्षेत्रमा यसपछि क्रमश विसं २०५१ को मध्यावधि निर्वाचनमा नेमकिपाका आशाकाजी बासुकला, ०५६ को निर्वाचनमा पुन कांग्रेसका लेखनाथ न्यौपाने, ०६४ सालको निर्वाचनमा नेमकिपाका सुनील प्रजापति, २०७० सालको निर्वाचनमा कांग्रेसका रामेश्वर ढुङ्गेल र २०७४ सालमा भने एमालेका बस्नेत विजयी भएका थिए ।