— बंगलादेशले अहिलेकै स्थिति कायम रहने हो भने अर्को महिना हुने ट्वान्टी–२० विश्वकपका लागि आफ्नो टिम भारत नजाने आइतबार जनाएको छ । बंगलादेशी क्रिकेट बोर्ड (बीसीबी) ले आफ्ना खेल अन्यत्र सार्न भने अनुरोध गरेको छ ।
दुई देशबीच तनाव उत्पन्न भएपछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को अनुरोधमा इन्डियन प्रिमियर लिग (आईपीएल) टिम कोलकाता नाइटराइडर्सले बंगलादेशी बलर मुस्तफिजुर रहमानलाई हटाएको थियो । त्यसपछि बीसीबीको आपत्कालीन बैठकले बंगलादेशले भारतमा खेल्ने भनिएका विश्वकपका खेल अन्यत्र सार्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सामु औपचारिक रूपमा अनुरोध गरेको जनाएको छ ।
बीसीबीले भनेको छ, ‘खेलाडी, पदाधिकारी र अन्य सरोकारावालाको सुरक्षा र भनाइका निम्ति खेल अन्यत्र सार्नुपर्ने देखिएको छ । टिमलाई सहभागी हुनका लागि उपयुक्त वातावरणको आवश्यकता पर्छ ।’ यसबीच अन्तरिम सरकारका युवा तथा खेलमन्त्री आसिफ नजरुलले सरकारी समाचार संस्था बीएसएसलाई भनेका छन्, ‘हामी कुनै पनि स्थितिमा बंगलादेशी क्रिकेट र खेलाडीको अपहेलना हेर्न सक्दैनौं । अब दासलाई गर्नेजस्तो व्यवहार स्विकार्य हुन्न ।’
उनले नै बीसीबीलाई बंगलादेशका खेल अन्यत्र सार्न अनुरोध गर्न आदेश दिएका थिए । उनले भनेका छन्, ‘जहाँ कोही बंगलादेशी खेलाडीलाई अनुबन्धका बाबजुद टिमबाट हटाइन्छ, त्यहाँ पूरा बंगलादेशी टिम जानु सुरक्षित हुन्न । त्यसैले मैले बंगलादेशका खेल श्रीलंका सार्न अनुरोध गर्न भनेको छुं ।’
ट्वान्टी–२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा सुरु हुनेछ । बंगलादेशका लिग चरणका सबै चारै खेल भारतमा हुनेछन् । पाकिस्तानले भने आफ्ना सबै खेल श्रीलंकामा खेल्नेछ । भारत र पाकिस्तानले धेरै देशको सहभागी हुने प्रतियोगिताका खेल तटस्थ भूमिमा खेल्ने सम्झौताअनुसार यो निर्णय गरिएको हो । सन् २०२४ मा ढाकामा भएको जनप्रदर्शनपछि भारत र बंगलादेशबीचको सम्बन्ध चिस्सिएको छ ।
त्यसै जनप्रदर्शनका कारण तात्कालीन प्रधानमन्त्री सेख हसिनाले सत्ता गुमाएकी थिइन् र उनी भारतको शरणमा पुगेकी थिइन् । भारतले भने पछिल्लो समय मुस्लिम बाहुल्य बंगलादेशमा अल्पसंख्यकमाथि भइरहेको अन्याय र अत्याचारको विरोध गरेको थियो । बंगलादेशको अन्तरिम सरकारका प्रमुख तथा नोबल पुरस्कार विजेता मुहमद युनिसले भारतले घटनाको बढाइचढाइ प्रचार गरेको आरोप पनि लगाएका थिए ।
बीसीबी अध्यक्ष इमानुल इस्लाम बुलबुलले भने विश्वकपलाई लिएर सबै प्रकारको सम्भावनाबारे छलफल भइरहेको बताएका छन् । उनले भनेका छन्, ‘बंगलादेशी खेलाडीको सुरक्षा र स्वाभिमान नै हाम्रो पहिलो प्राथमिकता हो । यसै तथ्यलाई ध्यानमा राखेर हामीले उपयुक्त समयमा ठीक निर्णय गरेका छौं ।’
कोलकाताले मुस्तफिजुरलाई गत डिसेम्बर भएको अक्सनबाट दस लाख डलरभन्दा बढीको अनुबन्ध गरेको थियो । तर बीसीसीआई सचिव देवजित सैकियाले कोलकातालाई ३० वर्षीय बंगलादेशी बलरलाई दुई पक्षबीचको अनुबन्धबाट फुकुवा गर्न आदेश दिएका थिए । आईपीएलको सन् २०२६ को संस्करण मार्च २६ बाट सुरु हुनेछ । नजरुलले आईपीएलको प्रत्यक्ष प्रशारण बंगलादेशमा रोक्नका लागि पनि बंगलादेशी प्रसारकलाई आदेश दिएका बताएका छन् । उनले थपेका छन्, ‘आईपीएलको प्रसारण रोक्नका लागि पनि मैले आदेश दिएको छु ।’