— वैदेशिक रोजगार बोर्डले २५ करोड रुपैयाँको सीपयुक्त तालिम दिने योजनालाई आइतबार स्थगित गर्ने निर्णय गरेको छ । बोर्ड सचिवालयले वार्षिक स्वीकृति कार्यक्रमअनुसार तालिम दिन सूचीकृत तालिम प्रदायक संस्थासँग प्रस्ताव मागेको थियो ।
बोर्डका अध्यक्षसमेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीको अध्यक्षतामा श्रम मन्त्रालयमा बसेको बैठकले अगाडि बढाइएको तालिम सञ्चालन प्रक्रियालाई तत्काल स्थगित गर्ने निर्णय गरेको हो ।
श्रममन्त्री भण्डारीले बोर्डबाट दिइएको तालिमको औचित्य र उपयोगितामा गम्भीर प्रश्न उठेकाले स्थगित गरेको बताए । ‘विगतका वर्षमा पनि बोर्डबाट तालिम दिइएको रहेछ । यहाँबाट दिएको तालिम सीपयुक्त र रोजगारीमा जोडिएको कुनै तथ्यांक छैन । त्यही ढर्राको तालिम यसपटक पनि दिन लागिएको रहेछ,’ उनले कान्तिपुरसँग भने,‘यसको लक्षित वर्ग पनि उपयुक्त नभएको छैन । यसले रोजगारमा जाने व्यक्तिहरुको सीपको विकास पनि गरेको पुष्टि भएको देखिएन ।’
उनले तालिम सञ्चालन विगतकै परिपाटीमा अगाडि नबढ्ने बताए । ‘पुरानै ढर्रामा तालिम जाँदैन । त्यो तालिम दिसकेका मान्छेहरु रोजगारीमा कहाँ जोडिए ? त्यसको एउटा पनि तथ्यांक छैन । लगानी पूरै खेर गएको छ । त्यसको के औचित्य भयो त ?,’ उनले भने, ‘श्रमिकको पसिनाको पैसामा सबैको चासो हुन्छ । अहिले कोषको आम्दानी पनि घटेको अवस्था छ । बैंकबाट कोषमा आउने ब्याज पनि घटेको छ ।’
बोर्डले १४ वटा क्षेत्रमा ३ सय ६० घन्टा तालिम दिने योजना वनाएको थियो । गत आर्थिक वर्षमा दिइएको तालिमको विषयमासमेत छानबिन गर्ने उनले बताए । ‘बोर्डमा पदाधिकारीबाट तालिम सञ्चालनको क्रममा हिनामिना भयो भन्ने विषय पनि उठेको छ । यसमा पनि छानबिन हुनेछ,’ उनले भने, ‘अख्तियारले पनि केही प्रश्नहरु उठाएको छ । मन्त्रालयको छानबिन समितिबाट सुझाव प्राप्त भएको छ । यसलाई पनि हेर्छौं ।’