मुख्य समाचार
राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो वैदेशिक रणनीतिको अर्को लक्ष्य संकेत
राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो वैदेशिक रणनीतिको अर्को लक्ष्य संकेत

— भेनेजुएलामा निकोलस मदुरोलाई सत्ताच्युत गर्न गरिएको अमेरिकी सैन्य कारबाहीको भोलिपल्टै राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो वैदेशिक रणनीतिको अर्को लक्ष्य संकेत गरेका छन् । सञ्चारकर्मीहरूसँग बोल्दै ट्रम्पले डेनमार्कको अधिनमा रहेको ग्रीनल्यान्डमा अमेरिकी नियन्त्रण हुनुपर्ने दाबी दोहोर्‍याएका छन् भने कोलम्बिया र क्युबालाई समेत चेतावनी दिएका छन् ।

ग्रीनल्यान्डमा अमेरिकी दाबी

फ्लोरिडाबाट वासिङ्टन फर्कने क्रममा ट्रम्पले ग्रीनल्यान्ड अमेरिकी राष्ट्रिय सुरक्षाका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको बताए । 'ग्रीनल्यान्डमा अहिले रुसी र चिनियाँ जहाजहरूको चहलपहल बढेको छ,' उनले भने, 'सुरक्षाको दृष्टिकोणले हामीलाई ग्रीनल्यान्ड आवश्यक छ, जुन डेनमार्क एक्लैले धान्न सक्दैन ।'

यसअघि 'भेनेजुएलाको सैन्य कारबाहीले ग्रीनल्यान्डका लागि के संकेत गर्छ ?' भन्ने 'द एटलान्टिक'को प्रश्नमा ट्रम्पले घुमाउरो जवाफ दिँदै भनेका थिए, 'त्यो त उनीहरूले आफैं बुझ्नुपर्ने कुरा हो ।'

ट्रम्पको अभिव्यक्तिप्रति डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले आपत्ति जनाएकी छन् । उनले ग्रीनल्यान्ड 'बिक्रीमा नरहेको' स्पष्ट पार्दै ट्रम्पलाई एउटा सार्वभौम मुलुक र ऐतिहासिक मित्र राष्ट्रलाई धम्क्याउन बन्द गर्न आग्रह गरेकी छन् ।


डेनमार्कका अधिकारीहरू ट्रम्प प्रशासनका पूर्वअधिकारीले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा नक्सालाई लिएर समेत रुष्ट छन्, जसमा ग्रीनल्यान्डलाई अमेरिकी झण्डाको रङ्गमा देखाउँदै 'सुन' (छिट्टै) लेखिएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एसोसिएट प्रेसका अनुसार ट्रम्पले आफ्नो 'राष्ट्रिय सुरक्षा रणनीति' मा पश्चिमी गोलार्द्धमा अमेरिकी वर्चस्व पुन:स्थापित गर्ने लक्ष्य राखेका छन् ।

क्युबा र कोलम्बियालाई चेतावनी

भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोका निकट सहयोगी मानिने क्युबप्रति पनि ट्रम्प प्रशासन निकै आक्रामक देखिएको छ । विदेशमन्त्री मार्को रुबियोले मदुरोको सुरक्षामा क्युबाली अंगरक्षकहरू खटिएको र उनीहरूले नै भेनेजुएलाको आन्तरिक जासुसी संयन्त्र चलाएको आरोप लगाएका छन् । आइतबार क्युबा सरकारले अमेरिकी सैन्य कारबाहीमा आफ्ना ३२ अधिकारी मारिएको पुष्टि गरेको छ ।

त्यस्तै, ट्रम्पले कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोलाई समेत निसानामा पारेका छन् । कोलम्बियालाई 'विश्वको कोकिन कारखाना' को संज्ञा दिँदै ट्रम्पले भने, 'उनले (पेट्रो) लामो समय यो काम गर्न पाउने छैनन् ।' कोलम्बियामाथि सैन्य कारबाही हुने सम्भावनाबारे सोधिएको प्रश्नमा ट्रम्पले भने, 'त्यो उचित सुनिन्छ ।'

ट्रम्प प्रशासनले यसअघि नै लागूऔषध तस्करीमा संलग्न रहेको आरोपमा पेट्रो र उनको परिवारमाथि प्रतिबन्ध लगाउनुका साथै कोलम्बियालाई दिइँदै आएको सहायतामा कटौती गरिसकेको छ ।

ट्रम्पको पछिल्लो अभिव्यक्तिले पश्चिमी गोलार्द्धमा अमेरिकाले आफ्नो प्रभाव विस्तार गर्न थप आक्रामक सैन्य र राजनीतिक कदम चाल्न सक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी सेनाको कारबाहीमा नियन्त्रणमा लिइएका भेनेजुएलाका निवर्तमान राष्ट्रपति निकोलस मदुरोलाई सोमबार म्यानहटन संघीय अदालतमा उपस्थित गराइने भएको छ । उनलाई 'नार्को-टेरोरिजम' (लागुऔषध आतंकवाद) सम्बन्धी गम्भीर अभियोगमा सुनुवाइका लागि अदालत लैजान लागिएको हो । अमेरिकी सैन्य टोलीले गत सप्ताहान्तमा भेनेजुएलाको राजधानी काराकासबाट ६३ वर्षीय मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई एउटा ‘सरप्राइज रेड’ मार्फत नियन्त्रणमा लिएको ...
— अमेरिकी सेनाको कारबाहीमा राष्ट्रपति निकोलस मदुरो पक्राउ परेपछि भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्वेजले अमेरिकासँग 'साझा विकास'का लागि सहकार्यको प्रस्ताव गरेकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा थप सैन्य प्रहार हुनसक्ने चेतावनी दिइरहेका बेला रोड्रिग्वेजको यस्तो नरम प्रतिक्रिया आएको हो । शनिबार अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासमा छापा मारी मदुरोलाई नियन्त्रणमा लिएको थियो । सुरुमा ...
— क्युबाका राष्ट्रपति मिगेल डियाज–कानेलले भेनेजुएलाविरुद्ध अमेरिकाले गरेको सैन्य कारबाहीको खुलेर विरोध गर्दै हवानामा आयोजित प्रदर्शनको नेतृत्व गरेका छन् । क्युबाको कम्युनिस्ट पार्टी (पीसीसी) का प्रथम सचिवसमेत रहेका कानेल शनिबार बिहान ‘एन्टी–इम्पेरियलिस्ट प्लेटफर्म’ मा आयोजित विरोध सभामा अग्रपंक्तिमा उभिएका थिए । हवानाको ‘एन्टी–इम्पेरियलिस्ट ट्रिब्युन’ स्थलमा भएको सभामा क्युबाली उच्च नेतृत्वका साथै भेनेजुएलाका कूटनीतिक प्रतिनिधिको उपस्थिति थियो ...
— नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा किसान र माछा बोकेको डुंगा पल्टिँदा कम्तीमा २६ जनाको नदीमा डुबेर मृत्यु भएको छ भने १४ जना बेपत्ता भएका छन् । शनिबार राति जिगावा राज्यबाट योबे राज्यतर्फ जाँदै गरेको डुंगा दुर्घटनामा परेको जानकारी योबे राज्यको आपतकालीन व्यवस्थापन निकायका कार्यकारी निर्देशक मोहम्मद गोजेले दिए । 'आपतकालीन स्वयंसेवक र उद्धार टोलीले अहिलेसम्म २६ जनाको ...
— साउदी अरेबियाले निजी क्षेत्रमा रहेका ४६ वटा इन्जिनियरिङ पेसामध्ये ३० प्रतिशत स्थानीयकरण (साउदी नागरिकद्वारा पूर्ति) गर्ने निर्णय स्वीकृत गरेको छ। यो निर्णय रणनीतिक प्राविधिक क्षेत्रमा राष्ट्रिय रोजगारी बढाउने र साउदी इन्जिनियरहरूका लागि अवसर विस्तार गर्ने व्यापक प्रयासको हिस्सा हो। यो निर्णय मानव संशाधन तथा सामाजिक विकास मन्त्रालय र नगरपालिका तथा आवास मन्त्रालयले संयुक्त रूपमा ३१ ...