— केन्द्रीय सुरक्षा समितिले निर्वाचन सम्बन्धमा सुरक्षा निकायले गरिरहेको अन्तिम तयारीबारे जानकारी लिने भएको छ ।
गृह मन्त्रालयमा आइतबार बसेको समितिको बैठकले निर्वाचनको सन्दर्भमा सुरक्षा निकायहरूले अहिलेसम्ममा के-कस्ता तयारी गरेको छ र त्यसमा मन्त्रालयले गर्नु पर्ने समन्वयको पाटोमा छलफल भएको गृह प्रवक्ता तथा सह-सचिव आनन्द काफ्लेले बताए ।
उनले जेन-जी आन्दोलनपछि फरार रहेका कैदीबन्दीहरूको पक्राउ गर्ने अभियानलाई अझ बढी तदारुकता प्रदान गर्दै सुरक्षा निकायहरूको विशेष ओपरेसनलाई थप क्रियाशीलता दिनेबारेमा छलफल गर्ने निर्णय भएको पनि बताए । विभिन्न धार्मिक समुदायहरू र एक अर्काका धर्मबीच लक्षित गरेर विभिन्न सामाजिक सञ्जालमा गलत र भ्रामक टिप्पणी गर्ने र अर्काको धर्ममा खलल पुर्याएका घटनाहरू भएकोमा विशेष रूपमा छलफलकेन्द्रित रहेको पनि उनले बताए ।
धार्मिक गतिविधिबारे छलफल गर्न सोमबार गृह मन्त्रालमा मानवअधिकार आयोग, अन्य संवैधानिक आयोग र सुरक्षा निकायसहितको एउटा बैठक बस्ने निर्णय भएको छ ।