मुख्य समाचार
अमेरिकाले भेनेजुएलामा अप्रत्याशित हमला गरी कब्जामा लिएका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई न्युयोर्क पुर्‍याइएको छ
अमेरिकाले भेनेजुएलामा अप्रत्याशित हमला गरी कब्जामा लिएका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई न्युयोर्क पुर्‍याइएको छ

— अमेरिकाले भेनेजुएलामा अप्रत्याशित हमला गरी कब्जामा लिएका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई शनिबार न्युयोर्क पुर्‍याइएको छ ।

उनीहरूलाई सेनाको पानीजहाज ‘इवो जिमा’ मार्फत अमेरिका ल्याइएको थियो । त्यसपछि सैनिक हेलिकोप्टरमार्फत ‘स्टिवार्ट एयर नेसनल गार्ड बेस’ मा लगियो । अहिले ब्रुकलिनस्थित न्युयोर्क डिटेन्सन सेन्टरमा हिरासतमा राखिएको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार यो कारबाही शीतयुद्धपछिको दक्षिण अमेरिकामा भएको सबैभन्दा ठूलो सैन्य हस्तक्षेप हो । अमेरिकी जासुसी निकायहरूले केही महिनादेखि मदुरोको हरेक गतिविधि नियालिरहेका थिए । मदुरो कहाँ सुत्छन्, के खान्छन्, के लगाउँछन् र उनले पालेका घरपालुवा जनावरसम्मको सूचना संकलन गर्न भेनेजुएला सरकारभित्रै एक जना अमेरिकी ‘स्रोत’ परिचालन गरिएको थियो ।

Hardik IVF
Laxmi Sunrise bank

मिसनलाई पूर्णता दिन अमेरिकी एलिट फोर्सले मदुरो बस्ने काराकासस्थित ‘सेफ हाउस’ को दुरुस्तै (फूल–साइज) नमुना बनाएर महिनौंसम्म अभ्यास गरेका थिए । राष्ट्रपति ट्रम्पले चार दिनअघि नै हमलाको अनुमति दिए पनि मौसम खराब भएका कारण अन्तिम समयमा आएर शुक्रबार राति १०ः४६ (अमेरिकी समय) मा मात्र ‘गो अहेड’ को आदेश दिएका थिए ।

राष्ट्रपति ट्रम्पले हृवाइट हाउसको सिचुएसन रुमबाट नभई फ्लोरिडास्थित आफ्नो ‘मार–ए–लागो’ क्लबबाट यस अपरेशनको प्रत्यक्ष प्रसारण हेरेका थिए । उनले सीआईए निर्देशक जोन र्‍याटक्लिफ र विदेशमन्त्री मार्को रुबियोसँगै बसेर यो मिसन नियालिरहेका थिए । शनिबार बिहान ‘फक्स’ मिडियासँग कुरा गर्दै ट्रम्पले भने, ‘यो अचम्मको दृश्य थियो । म यसलाई कुनै टेलिभिजन सो हेरेझैं हेरिरहेको थिएँ । हाम्रा जवानहरूको गति र सामर्थ्य अद्भुत थियो ।’ ट्राम्पले आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म ट्रूथमा पनि अपरेशनको प्रत्यक्ष प्रसारण हेरेको तस्बिरहरू पोस्ट गरेका छन् । २०११ मा तत्कालिन अमेरिकी राष्ट्रपति बारक ओबामाले पनि ओसामा विन लादेनलाई पक्राउ गर्दा प्रत्यक्ष हेरेका थिए । पाकिस्तानको एपोटाबादस्थित एक घरमा भएको हमलालाई राष्ट्रपति ओबामाले हृवाइट हाउसबाट प्रत्यक्ष हेरेका थिए ।



अमेरिकाले मदुरोलाई पक्राउ गर्न लामो समयदेखि तयारी गरेको थियो । बमवर्षक, लडाकु विमान, गुप्तचर निकाय, अनुसन्धान, निगरानी र रोटरी विङ एयरक्राफ्टले ‘अपरेसन एब्सुलेट रिसल्भ’ लाई सफल बनाउन भूमिका खेलेको अमेरिकी एयरफोर्सका अवकाशप्राप्त जनरल तथा जोइन्ट चिफ अफ स्टाफ्सका प्रमुख ड्यान केनले बताए । केनका अनुसार अमेरिकाले यस हमलामा झन्डै १ सय ५० वटा विमान प्रयोग गरेको थियो । जसमा बी वान बी लान्सर बम्बर्स, एफ २२, इए–१८ ग्रोलर इलेक्ट्रेनिक प्लेन, ई–२ हर्किई अर्ली वार्निङ एयरक्राफ्टलगायत अत्याधुनिक विमान तथा ड्रोन समावेश छन् । त्यस्तै, आर्मीको एलिट १६० औं स्पेसल अपरेसन्स एभिएसन रेजिमेन्टलाई मदुरो बसेको ठाउँमा उतारिएको थियो ।

‘जब सेना काराकासतर्फ अघि बढ्यो, संयुक्त एयर कम्पोनेन्टले भेनेजुएलाको एयर डिफेन्स प्रणालीलाई बिगार्न थाल्यो,’ केनले भने, ‘हेलिकोप्टरहरूलाई लक्षित क्षेत्रमा सुरक्षित प्रवेश गराउन हतियारहरू प्रयोग गरियो । हाम्रो लक्ष्य हेलिकोप्टर र स्थल सेनाको रक्षा गर्ने तथा उनीहरूलाई लक्ष्यसम्म पुर्‍याउन र घरसम्म पुर्‍याउने थियो ।’ यसमा यूएस स्पेस कमान्ड, यूएस साइबर कमान्ड तथा सीआईए, एनएसए र एनजीआईएजस्ता गुप्तचर एजेन्सी प्रयोग गरिएको उनले बताए ।

How did the US capture the Venezuelan president by breaking into his residence?

केनका अनुसार अमेरिकी सेना मदुरोको कम्पाउन्डमा स्थानीय समयअनुसार मध्यरात २ बजेर १ मिनेटमा पुगेको थियो । सेना प्रवेश गरिसकेपछि मदुरोले राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै हमलाको निन्दा गरेका थिए । अमेरिकी सेना निवासमा पुग्दा मदुरो स्टिलले बनेको एउटा सुरक्षित कोठा (सेफ रुम) भित्र छिर्ने प्रयासमा थिए । उनी कोठाभित्र त छिरे, तर ढोका लगाउन नपाउँदै अमेरिकी सेनाको टोलीले नियन्त्रणमा लियो । छोटो समयमै उनी गिरफ्तार भएको देखिए पनि यसका लागि अमेरिकी गुप्तचर संस्था सीआईएले लामो समयदेखि तयारी गरिरहेको थियो । अपरेसनका लागि भेनेजुएला सरकारभित्रै रहेका सीआईएको एक स्रोतले मदुरोको लोकेसन पत्ता लगाउन मद्दत गरेको ट्रम्पले पत्रकार सम्मेलनमा खुलासा गरेका गरे ।

सोही स्रोतको सूचनाका आधारमा अमेरिकी सेनाको विशेष ‘डेल्टा फोर्स’ ले कारबाही चलायो । मदुरोलाई बाहिर निकाल्न (एक्सट्र्याक्सन) अमेरिकी सेनाले १ सय ५० भन्दा बढी विमानहरू प्रयोग गरेको थियो । ट्रम्पका अनुसार यस अपरेसनमा कुनै पनि अमेरिकी सैनिकको मृत्यु भएको छैन, यद्यपि केही घाइते भएका छन् । हमलाका क्रममा कम्तीमा ४० जनाको मृत्यु भएको भेनेजुएलाका एक शीर्ष अधिकारीलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले जनाएको छ । मदुरोलाई नियन्त्रणमा लिने मुख्य अपरेसनलाई सफल बनाउन काराकासका विभिन्न स्थानमा ‘कभर’ का रूपमा हवाई हमलाहरू गरिएका थिए । बीबीसी भेरिफाईका अनुसार काराकासका ला कार्लोटा, फुर्टे टिउना, पोर्ट ला गुएरा, हिगुएरोट विमानस्थल र एन्टेनास एल भोल्कान गरी पाँच क्षेत्रमा हमला गरिएको थियो ।

कोकिन तस्करी, अपहरण र हत्याको अभियोग

नियन्त्रणमा लिइएका मदुरोविरुद्ध अमेरिकी न्याय विभागले न्युयोर्कस्थित संघीय अदालतमा ५ वर्षअघि नै अभियोगपत्र दर्ता गरिसकेको छ । मार्च २०२० मा अभियोगपत्र दर्ता गरेसँगै अमेरिकी सरकारले मदुरोका बारेमा सूचना दिनेलाई २ करोड ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा नै गरेको थियो । त्यसको पाँच वर्षपछि गत अगस्टमा उक्त रकम बढाएर ५ करोड डलर पुर्‍याइएको थियो । लागूऔषध आतंकवाद, कोकिन निर्यात र मेसिन गन कब्जा गरेको अभियोगमा अब मदुरोको बयान लिइनेछ । मदुरो प्रशासनका शीर्ष अधिकारी, उनकी पत्नी फ्लोरेस र उनका छोराविरुद्ध पनि अदालतमा मुद्दा दर्ता छ । पत्नी फ्लोरेसविरुद्ध गत क्रिसमसमा मात्रै अभियोग दर्ता गरिएको थियो ।

मदुरो र उनकी पत्नीलाई न्युयोर्कको म्यानहट्टनस्थित संघीय अदालतमा कहिले हाजिर गराइनेछ भन्ने विषय स्पष्ट छैन । सामाजिक सञ्जालमा शनिबार राति सार्वजनिक भिडियोमा मदुरो मुस्कुराइरहेका देखिन्छन् । उनलाई न्युयोर्कस्थित अमेरिकी औषधि प्रवर्तन प्रशासन कार्यालयबाट दुई संघीय एजेन्टहरूले हात समातेर लगिरहेका थिए ।

मदुरोले ‘विश्वका हिंस्रक र प्रचलित लागू पदार्थ तस्कर र लागू पदार्थ आतंकवादीहरूसँग’ साझेदारी गरेर हजारौं टन कोकिन अमेरिकामा ढुवानी गरेको अभियोगपत्रमा उल्लेख छ । ‘सनालोआ कार्टेल’ र ‘ट्रेन डे अरागुआ’ जस्ता शक्तिशाली र लागू पदार्थ तस्करी गर्ने हिंस्रक गिरोहलाई भेनेजुएला सरकारले संरक्षण दिएको र ती गिरोहले सरकारी अधिकारीलाई मोटो रकम दिने गरेको पनि अभियोगपत्रमा उल्लेख छ । आफू, आफ्नो परिवार र सहयोगीको फाइदाका लागि कोकिनयुक्त भ्रष्टाचारलाई फस्टाउन दिएको आरोप मदुरोमाथि लगाइएको छ । लागूऔषध तस्करीमा अवरोध गर्न खोज्नेमाथि अपहरण, कुटपिट र हत्याको आदेश दिएको आरोप पनि मदुरो र उनकी पत्नीमाथि लगाइएको छ । यसमा काराकासका स्थानीय लागूऔषध प्रमुखको हत्या आरोप पनि समावेश छ । मदुरोले यी सबै आरोप अस्वीकार गर्दै आएका छन् ।

हामी चलाउँछौं भेनेजुएला : ट्रम्प

मदुरो अमेरिकी हिरासतमा पुगेसँगै अब त्यहाँको सत्ता कसले सम्हाल्छ भन्नेबारे अन्योल र विवाद चुलिएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलाको संक्रमणकालीन अवस्थामा अमेरिकाले प्रत्यक्ष हस्तक्षेप गर्ने संकेत दिएका छन् ।

How did the US capture the Venezuelan president by breaking into his residence?

उनले नयाँ नेतृत्व चयन नभएसम्म अमेरिकाले नै शासन चलाउने पनि घोषणा गरेका छन् । नोबेल शान्ति पुरस्कार विजेता तथा भेनेजुएलाकी मुख्य विपक्षी नेतृ मारिया कोरिना माचादोले मदुरोको गिरफ्तारीलाई ‘स्वतन्त्रताको घडी’ भन्दै स्वागत गरेकी छन् । उनले सेनालाई निर्वाचनका वास्तविक विजेता एडमन्डो गोन्जालेज उरुटियालाई राष्ट्रपतिका रूपमा स्वीकार गर्न आह्वान गरेकी छन् ।

ट्रम्पले भने माचादोको नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै भनेका छन्, ‘उनी एक असल महिला हुन् तर भेनेजुएलाको नेतृत्व सम्हाल्न उनीसँग देशको सम्मान र समर्थन छैन, हामीले सुरक्षित र न्यायोचित नभएसम्म भेनेजुएलाको शासन आफैं चलाउनेछौं ।’ गत जुलाईको चुनावमा विपक्षी उम्मेदवार गोन्जालेजले दुई तिहाइ मत प्राप्त गरेको दाबी गरिए पनि मदुरोले सत्ता छोड्न अस्वीकार गरेका थिए । अहिले मदुरो हटेपछि कतै उस्तै प्रकृतिको अर्को तानाशाही वा विदेशी कठपुतली सरकार आउने त होइन भन्नेमा भेनेजुएलाका नागरिक चिन्तित देखिन्छन् ।

कार्यवाहक राष्ट्रपतिमा डेल्सी

भेनेजुएलाको सर्वोच्च अदालतको संवैधानिक च्याम्बरले राष्ट्रपति मदुरोको अनुपस्थितिमा उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवार सम्हाल्न भनेको छ । भेनेजुएलामा अवस्था सामान्य नभएसम्म डेल्सी राष्ट्रपति रहनेछिन् । मदुरोकी निकट राजनीतिक सहयोगी मानिने उनी २०१८ देखि उपराष्ट्रपति थिइन् । उनी भेनेजुएलाको सोसलिस्ट लिगका संस्थापक नेता जर्ज एन्टोनियो रोड्रिग्वेजकी छोरी हुन् ।

How did the US capture the Venezuelan president by breaking into his residence?
भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेज । तस्बिर : रोयटर्स

उनले यसअघि २०१३–२०१४ मा ऊर्जा, सञ्चार र सूचना मन्त्रालय, २०१४–२०१७ मा विदेश मन्त्रालय र २०२४–२०२५ यता उपराष्ट्रपतिको जिम्मेवारीसँगै अर्थ तथा पेट्रोलियम मन्त्रालय सम्हालेकी थिइन् । डेल्सीले १९९३ मा भेनेजुएलाको केन्द्रीय विश्वविद्यालयबाट कानुनमा डिग्री लिएकी थिइन् । उनले केही समय उक्त कलेजमा अध्यापन पनि गरिन् । विद्यार्थी कालदेखि नै उनी आन्दोलनको अग्रमोर्चामा थिइन् । उनले पेरिसमा केही समय श्रम कानुन पनि पढिन् । भेनेजुएलामा श्रम अभिवक्ता संघमा उनी अध्यक्ष पनि थिइन् ।

उपराष्ट्रपति रोड्रिग्वेजले अमेरिकी कारबाहीको कडा भर्त्सनासमेत गरेकी छन् । सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले मदुरो र उनकी पत्नीको तत्काल रिहाइ माग गरेकी छन् । ‘यो कारबाही केवल भेनेजुएलाको ऊर्जा, खनिज र प्राकृतिक स्रोत कब्जा गर्ने बहाना मात्र हो,’ रोड्रिग्वेजले भनेकी छन्, ‘मदुरो नै भेनेजुएलाका एक मात्र वैध राष्ट्रपति हुन् ।’ उनले नागरिक र सशस्त्र बललाई देशको रक्षाका लागि एकजुट हुन आह्वानसमेत गरेकी छन् ।

ट्रम्पले भेनेजुएलामा स्थिरता ल्याउनका लागि त्यहाँका अधिकारीसँग मिलेर अमेरिकाले शासन चलाउने बताएका छन् । उनले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग भेनेजुएलाकी उपराष्ट्रपति रोड्रिग्वेजको टेलिफोन वार्ता भएको खुलासासमेत गरेका थिए । टेलिफोन संवादमा रोड्रिग्वेजले वासिङ्टनसँग मिलेर काम गर्ने संकेत गरेको दाबी ट्रम्पले गरे । ‘उनले भेनेजुएलालाई फेरि महान् बनाउन हामीले जे आवश्यक ठान्छौं, त्यो गर्न तयार रहेको संकेत दिएकी छन्,’ ट्रम्पले भने ।

अमेरिकाविरुद्ध चौतर्फी आलोचना

भेनेजुएलामा गरिएको हमलासँगै यसका राष्ट्रपति मदुरो र उनकी पत्नीको पक्राउलाई लिएर यतिबेला अमेरिकाका विभिन्न सहरमा विरोध प्रदर्शन पनि भइरहेका छन् । लस एन्जलस, न्युयोर्क, वासिङ्टन डीसी र लास भेगासलगायतका क्षेत्रमा सयौंको संख्यामा मानिसहरू सडकमा उत्रिएका छन् । लस एन्जलसमा वर्षाको प्रवाह नगरी भेला भएका प्रदर्शनकारीले ‘भेनेजुएलामा बम विस्फोट बन्द गर’, ‘तेलका लागि रगत नबगाऊ’ र ‘युद्ध होइन, ट्रम्प चाहिँदैन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । ह्वाइट हाउस बाहिर युद्धविरोधी समूह ‘एन्सर’ र ‘पार्टी फर सोसलिज्म एन्ड लिबरेसन’ का कार्यकर्ताले विरोध प्रदर्शन गरे । उनीहरूले मदुरोको पक्राउलाई ‘अपहरण’ को संज्ञा दिँदै तत्काल रिहाइको माग गरेका छन् ।

How did the US capture the Venezuelan president by breaking into his residence?

त्यस्तै टर्किए, भारतलगायतका विभिन्न देशमा अमेरिकी साम्राज्यवादविरुद्ध विरोध भएका छन् । त्यस्तै विभिन्न देशका विदेशमन्त्रीहरूले यसको विरोध गरेका छन् । चीनले पनि विरोध जनाएको छ । आइतबार चिनियाँ विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकी कदमको भर्त्सना गरेको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले मदुरोको पक्राउलाई ‘अपहरण’ को संज्ञा दिँदै स–सम्मान तत्काल रिहा गर्न अमेरिकासँग माग गरेका छन् । राष्ट्रपति मदुरो र उनकी पत्नीलाई जबर्जस्ती देशबाहिर लैजानु गम्भीर चिन्ताको विषय भएको चीनको ठहर छ ।

चीनले अमेरिकी सैन्य कारबाहीलाई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रको स्पष्ट उल्लंघन भएको बताएको छ । ‘यो कदम अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताविपरीत छ,’ प्रवक्ताले भनेका छन् । यो परिस्थितिबारे छलफल गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपत्कालीन बैठक बस्ने भएको छ । सुरक्षा परिषद्को वर्तमान अध्यक्ष राष्ट्र सोमालियाले सोमबारका लागि बैठक आह्वान गरेको छ । सोमाली स्थायी मिसनकी प्रवक्ता खादिजा अहमदका अनुसार सोमबार बिहान १० बजे (न्युयोर्क समय) सुरक्षा परिषद्को बैठक बस्ने तयारी छ । जनवरी महिनाका लागि सुरक्षा परिषद्को अध्यक्षता सोमालियाले सम्हालिरहेको छ ।

सञ्चारमाध्यमको प्रतिरोध

भेनेजुएला घटनाप्रति विश्वका प्रमुख सञ्चारमाध्यमहरूले फरक–फरक दृष्टिकोण पस्किएका छन् । नेपाली राष्ट्रिय दैनिक पत्रिकाहरूले पनि मदुरो गिरफ्तारको खबर पहिलो पृष्ठमै प्रकाशन गरेका छन् । त्यस्तै अन्तर्राष्ट्रिय समुदायमा पनि चासोको विषय भएका कारण विश्वव्यापी ‘कभरेज’ को विषय बनेको छ । अमेरिकाले यसलाई ‘न्यायिक कारबाही’ भनेको छ भने इरान, चीन, रुस र टर्किएका मिडियाहरूले यसलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन र ‘जंगल राज’ को संज्ञा दिएका छन् ।

How did the US capture the Venezuelan president by breaking into his residence?

यतिबेला विश्वका शक्ति राष्ट्रहरूबीच सञ्चार युद्ध सुरु भएको छ । विशेषगरी इरान, रुस, चीन र टर्किएका सञ्चारमाध्यमले अमेरिकाको यो कदमलाई आधुनिक विश्वको ‘खराब अध्याय’ भन्दै आलोचना गरेका छन् ।

इरानी सरकारी सञ्चारमाध्यमहरूले यसलाई सार्वभौमसत्तामाथिको नांगो हस्तक्षेप भनेका छन् । ‘तेहरान टाइम्स’ ले ‘जंगली कानुन’ शीर्षकमा समाचार प्रकाशित गर्दै अमेरिकाले अन्तर्राष्ट्रिय मर्यादालाई पूर्णतः बेवास्ता गरेको उल्लेख गरेको छ । त्यस्तै, ‘इरान इन्टरनेसनल’ र ‘मेहर न्युज’ ले इरानी विदेश मन्त्रालयलाई उद्धृत गर्दै यसलाई ‘आतंकवादी शैलीको अपहरण’ भन्दै मदुरोको समर्थनमा इरान दृढ रहेको सन्देश प्रवाह गरेका छन् ।

रुसको ‘आरटी’ र ‘तास’ ले यसलाई शासन परिवर्तनका लागि गरिएको सुनियोजित सैन्य हमला भनेका छन् । रुसी सञ्चारमाध्यमहरूले यस घटनालाई ‘सशस्त्र सैन्य आक्रामकता’ भन्दै मदुरोको तत्काल रिहाइको माग गरेका छन् । ‘द मस्को टाइम्स’ ले रुसी विदेश मन्त्रालयको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘अमेरिकाले दिएका तर्कहरू आधारहीन छन् र यो विश्व शान्तिका लागि गम्भीर खतरा हो ।’

चिनियाँ सञ्चारमाध्यम ‘ग्लोबल टाइम्स’ र ‘साउथ चाइना मर्निङ पोस्ट’ ले यसलाई अमेरिकी आधिपत्यको पराकाष्ठा भनेका छन् । चीनले औपचारिक रूपमै मदुरो र उनकी पत्नीको तत्काल रिहाइको माग गरेको छ । चिनियाँ मिडियाहरूको विश्लेषणमा यो कारबाहीले ‘कुनै पनि सार्वभौम देशको राष्ट्राध्यक्ष अब सुरक्षित छैनन्’ भन्ने सन्देश दिएको छ । उनीहरूले यसलाई संयुक्त राष्ट्रसंघको बडापत्रविरुद्धको कार्य भन्दै भर्त्सना गरेका छन् ।

टर्किएको ‘हुर्रियत डेली न्युज’ ले अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइलाई उद्धृत गर्दै अब अमेरिकाले नै भेनेजुएला चलाउने संकेत दिएको उल्लेख गरेको छ । ‘टर्किस मिनेट’ ले टर्किएका राष्ट्रपति रेचेप तैय्यप एर्दोआनको मौनतालाई ‘ट्रम्पसँगको डर’ का रूपमा व्याख्या गर्दै विपक्षी नेताहरूको आलोचनालाई प्रमुखताका साथ प्रकाशन गरेको छ ।

रोचक त के छ भने, अमेरिकी संस्थापन पक्षकै प्रभावशाली अखबार ‘न्युयोर्क टाइम्स’ ले यस सैन्य कदमको खुलेर विरोध गरेको छ । सम्पादकीय नै लेखेर अखबारले यसलाई ‘अवैध र अविवेकी’ कदम भनेको छ । उक्त मिडियाले मदुरो दमनकारी नेता भए तापनि उनलाई पक्राउ गर्न अपनाइएको सैन्य बाटोले अमेरिकाको अन्तर्राष्ट्रिय साख गिराएको र यसले ल्याटिन अमेरिकामा नयाँ द्वन्द्व निम्त्याउने चेतावनी दिएको छ ।

चौतर्फी आलोचनाबीच ट्रम्पले भेनेजुएलामा अर्को हमलाका लागि पनि अमेरिका तयार रहेको बताएका छन् । ‘आवश्यक परे हामी फेरि अर्को हमलाका लागि तयार छौं । तर त्यस्तो आवश्यक पर्दैन होला,’ उनले भने । अहिले काराकासको अवस्था शान्त देखिए पनि आगामी दिनहरू कता मोडिनेछन् भन्नेमा अनिश्चितता कायमै छ ।

अमेरिकी सेनाको यो कदमले भेनेजुएलामा लोकतन्त्र बहाली गर्छ वा नयाँ द्वन्द्व निम्त्याउँछ भन्नेमा विश्व समुदायको ध्यान केन्द्रित छ ।

मिल्दोजुल्दो नोरिएगा–मदुरो घटना भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको पछिल्लो गिरफ्तारी तीन दशकअघि पानामाका सैन्य शासक मानुएल नोरिएगाको पतनसँग अनौठो समानता देखिएको छ । अमेरिकाले ल्याटिन अमेरिकामा अपनाउने प्रत्यक्ष हस्तक्षेपको शैली नोरिएगा र मदुरो प्रकरणमा मिल्दोजुल्दो देखिन्छ ।

१९८९ मा अमेरिकाले ‘अपरेसन जस्ट कज’ अन्तर्गत पानामामा सैन्य हमला गरी नोरिएगालाई सत्ताबाट हटाएको थियो । वासिङ्टनले त्यतिबेला आफ्ना नागरिकको सुरक्षा, अलोकतान्त्रिक अभ्यास, भ्रष्टाचार र लागूऔषध व्यापारलाई हस्तक्षेपको प्रमुख कारणका रूपमा अघि सारेको थियो । कुनै समय अमेरिकी गुप्तचर एजेन्सीसँग निकट सम्बन्ध राखेका जनरल नोरिएगा वासिङ्टनको क्षेत्रीय रणनीतिमा असहयोगी बन्दै गएपछि अमेरिकाका लागि ‘अवाञ्छित पात्र’ बनेका थिए । उनले १९८५ मा राष्ट्रपति निकोलस अर्दितो बारलेटालाई राजीनामा दिन बाध्य पारेका थिए । १९८९ को आमनिर्वाचनसमेत रद्द गरिदिएका थिए ।

पानामामा अमेरिका विरोधी भावना बढ्दै जाँदा र नोरिएगाको शासन थप निरंकुश बन्दै गएपछि अमेरिकाले उनीविरुद्ध कानुनी दबाब तीव्र बनायो । १९८८ मा मियामीको संघीय अदालतले नोरिएगाविरुद्ध लागूऔषध तस्करीको अभियोग दर्ता गर्‍यो । त्यही शैली, जसरी अहिले मदुरोविरुद्ध ‘नार्को टेररिज्म’ को मुद्दा लगाइएको छ । पानामा हस्तक्षेपलाई भियतनाम युद्धपछिको अमेरिकाको सबैभन्दा ठूलो सैन्य परिचालनमध्ये एक मानिन्छ । अमेरिकाले पानामाका जनताको अवस्था सुधार्ने र नोरिएगालाई कानुनी कठघरामा उभ्याउने तर्कका साथ सैन्य कारबाही गरेको थियो । अन्ततः नोरिएगा पक्राउ परे र अमेरिकामा लगिए ।

मियामीमा चलेको मुद्दापछि नोरिएगा २०१० सम्म अमेरिकी जेलमा रहे । त्यसपछि उनलाई फ्रान्स सुपुर्दगी गरियो । २०११ मा पुनः पानामा फर्काइएपछि उनले आफ्नै शासनकालमा भएका अपराधको सजाय पानामाकै जेलमा काटे । २०१७ मा पानामाकै कारागारमा उनको मृत्यु भयो ।

दुवै घटनाक्रमको तुलना गर्दा अमेरिकाले ‘लागूऔषध मुद्दा’ लाई मुख्य रणनीतिक औजार बनाएको प्रस्ट देखिन्छ । पानामामा नोरिएगाको अन्त्य जेलमै भएझैं, अहिले अमेरिकाको नियन्त्रणमा रहेका मदुरोको भविष्य पनि कानुनी चक्रव्यूहमा फस्ने विश्लेषणहरू सतहमा आएका छन् । ल्याटिन अमेरिकी राजनीतिमा अमेरिकी प्रभाव र हस्तक्षेपको विरासतबारे मदुरो र नोरिएगाबीचको तुलना बहसको केन्द्रमा आएको छ ।

बस चालकदेखि राष्ट्रपतिसम्म

मदुरोको जीवनयात्रा कुनै फिल्मी कथाभन्दा कम रोचक छैन । राजधानी काराकासको सामान्य परिवारमा जन्मिएका मदुरो बस चालकबाट राष्ट्रपतिसम्मको उकालो चढ्ने दुर्लभ पात्रमध्ये पर्छन् ।

How did the US capture the Venezuelan president by breaking into his residence?

२३ नोभेम्बर १९६२ मा काराकासमा जन्मिएका मदुरोको सुरुवाती जीवन सामान्य थियो । राजनीतिमा प्रवेश गर्नुअघि उनी काराकासमै बस

चालक थिए । पछि उनी मेट्रो युनियनको नेता चुनिए, जसले उनको राजनीतिक यात्राको जग बसाल्यो । मजदुरका हकहितका लागि प्रदर्शनको नेतृत्व गरे र वामपन्थी वृत्तमा परिचित बने ।

उनको जीवनमा निर्णायक मोड १९९२ को असफल सैन्य विद्रोहपछि आयो । विद्रोहको नेतृत्व गरेका ह्युगो चाभेज पक्राउ परेपछि मदुरोले तत्कालीन सरकारविरुद्ध चाभेजको रिहाइका लागि ठूलो अभियान चलाए । यही भूमिकाले उनलाई चाभेजको विश्वासपात्र बनायो । चाभेज प्रशासनभित्र उनी ‘प्रिय पात्र’ का रूपमा चिनिन्थे ।

१९९९ मा चाभेज राष्ट्रपति बनेपछि मदुरोले विदेशमन्त्री र उपराष्ट्रपतिको महत्त्वपूर्ण जिम्मेवारी सम्हाले । यही अवधिमा उनले आफूलाई ‘जनताको मान्छे’ का रूपमा प्रस्तुत गरे । राजनीतिक यात्राको सुरुवातमा भने धेरैले उनको ‘बस चालक’ पृष्ठभूमिलाई लिएर व्यंग्य र खिल्ली उडाएका थिए । २०१२ मा क्यान्सरसँग संघर्ष गरिरहेका चाभेजले मदुरोलाई सार्वजनिक रूपमै आफ्नो उत्तराधिकारी घोषणा गरे । २०१३ मा चाभेजको निधनपछि भएको निर्वाचनमा विजय हासिल गर्दै उनी राष्ट्रपति बने ।

How did the US capture the Venezuelan president by breaking into his residence?

त्यसयता उनी २०१८ र २०२४ को निर्वाचनमा पनि राष्ट्रपति चुनिए । तर यी दुवै निर्वाचनमा धाँधलीको आरोप निरन्तर लाग्दै आएको छ । मदुरोको शासनलाई लिएर भेनेजुएलाभित्रै तीव्र ध्रुवीकरण देखिन्छ । एकातर्फ उनलाई देशलाई संकटतर्फ धकेल्ने ‘तानाशाह’ भन्ने जमात छ भने अर्कोतर्फ ‘गरिबको मसिहा’ मान्ने समूह पनि उत्तिकै सक्रिय छ । (एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: दक्षिण कोरिया र चीनले औद्योगिक आदान-प्रदान, प्रविधि, वातावरणलगायत विभिन्न क्षेत्रमा सहकार्यका लागि १४ वटा समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेका छन्। सोमबार बेइजिङमा दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच भएको शिखर भेटवार्ताका अवसरमा यी समझदारीपत्रमा हस्ताक्षर गरिएको हो। दक्षिण कोरियाको राष्ट्रपति कार्यालय चेओङ वा डेले यसबारे जानकारी दिएको छ। १४ वटा ...
: क्युबाली सरकारले भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीमा ३२ जना आफ्नो सेना र प्रहरी अधिकारीको मृत्यु भएको पहिलोपटक आधिकारिक रूपमा पुष्टि गरेको छ । क्युबाली अधिकारीहरू भेनेजुएलाको सरकारको अनुरोधमा त्यहाँ सुरक्षा र सैन्य कार्यमा संलग्न थिए । क्युबाली सरकारी टेलिभिजनमार्फत जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा नागरिकहरूले आफ्नो जिम्मेवारी इमानदारी र वीरतापूर्वक पूरा गरे । उहाँहरू प्रत्यक्ष लडाइँ वा सुविधामा भएको ...
: भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी अदालतमा आफूलाई अपहरण गरेर ल्याइएको दाबी गरेका छन्। उनले आफू अझै पनि भेनेजुएलाको वैध राष्ट्रपति भएको र सबै आरोपहरू निराधार रहेको बताएका छन्। न्यूयोर्क सहरस्थित संघीय अदालतमा सोमबार उपस्थित हुँदा न्यायाधीश एल्भिन हेलरस्टाइनले पहिचान पुष्टि गर्न आग्रह गरेपछि मादुरोले स्पेनी भाषामा भने, हो, म निकोलस मादुरो हुँ। म भेनेजुएला गणराज्यको ...
: संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा पाकिस्तानले भेनेजुएलामा विकसित अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै यसले विश्वव्यापी शान्ति र स्थिरतामा गम्भीर असर पार्न सक्ने चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघका लागि पाकिस्तानका कार्यवाहक स्थायी प्रतिनिधि उस्मान जादुनले बैठकमा विश्व अहिले धेरै अन्तर्राष्ट्रिय संकटहरूको सामना गरिरहेको उल्लेख गर्दै बढ्दो तनावले नयाँ खतराहरू सिर्जना गर्न सक्ने बताए। 'विश्व पहिले नै ...
: भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले संयुक्त राज्य अमेरिकासँग सहकार्य र संवादका लागि तयार रहेको बताएकी छन्। कार्यवाहक राष्ट्रपतिको रूपमा पहिलोपटक मन्त्रिपरिषद् बैठक बोलाएर उनले सार्वजनिक विज्ञप्ति जारी गर्दै भेनेजुएलाको विदेश नीति शान्ति र कूटनीतिक संवादमा केन्द्रित रहने स्पष्ट पारेकी हुन्। विज्ञप्तिमा रोड्रिगेजले भेनेजुएला शान्तिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै अमेरिकासँग 'सन्तुलित र सम्मानजनक' सम्बन्ध विकास गर्नु ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम