— मुगुमा सेनाको बोलेरो जिप दुर्घटनामा एक अमलदारको मृत्यु भएको छ । हनुमान ध्वज गुल्म हुटु रारादेखि भुलभुलेसम्म सैनिक पुर्याउन गएको जिप फर्किने क्रममा दुर्घटनामा परेको हो ।
मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार मृत्यु हुनेमा हनुमान ध्वज गुल्मका अमलदार चालक हरिसिंह ऐडी छन् । बैतडीको पाटन-४ बगाडी स्थायी ठेगाना भएका चालक ऐडीलाई मुगु अस्पतालले बिहान १ बजेर ३० मिनेटमा मृत घोषणा गरेको थियो ।
न १ झ १०३९ नम्बरको बोलेरो रारा छायानाथ नगरपालिका-७ मा रहेको पिना प्रहरी चौकीदेखि अगाडि आलादुना खोलाको मोडमा दुर्घटनामा परेको थियो । आइतबार बेलुकी ७ बजेर ७ मिनेटमा दुर्घटनामा परेको खबर पाउनेबित्तिकै नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो । बोलेरो सडकदेखि २ सय मिटर तल खसेको थियो । घाइते चालकलाई राति १० बजे नै मुगु अस्पतालमा ल्याइपुर्याइएको भए पनि बचाउन नसकिएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए ।
दुर्घटनाको कारण पत्ता लागेको छैन । तर त्यो मोडमा धेरै दुर्घटना हुने गरेको स्थानीयले बताएका छन् । मृतक ऐडीको शव पोस्टमार्टमको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिए ।