: कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बदर मतको संख्या घटाउन राजनीतिक दल र निर्वाचन आयोग दुवैको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। उनले मतदान प्रक्रियाबारे मतदातालाई प्रभावकारी रूपमा जानकारी गराउन मतदाता शिक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।
अन्नपूर्णसँगको कुराकानीमा भण्डारीले बदर मत घटाउन आयोग गम्भीर तयारीमा जुटेको बताए। ‘विगतको निर्वाचनभन्दा ८८५ वटा मतदान केन्द्र थप गरिएको छ। नयाँ मतदातालाई व्यवस्थित गरेर एउटा मतदान केन्द्रमा एक हजारभन्दा बढी मतदाता नहुने व्यवस्था गरिएको छ,’ उनले भने, ‘सचेतनामूलक अभियान सञ्चालन गरेर बदर मत घटाउने हाम्रो लक्ष्य हो। यसमा निर्वाचन आयोग निरन्तर लागिरहन्छ, यो हाम्रो कर्तव्य नै हो।’
उनले विगतका निर्वाचनमा कुन दलको कति मत बदर भयो भन्ने विषयको समीक्षा आवश्यक रहेको उल्लेख गर्दै हरेक राजनीतिक दलका प्रतिनिधि सचेत भएर मतदातालाई मतदान प्रक्रियाबारे जानकारी गराउनुपर्ने बताए। मतदाता शिक्षा सञ्चालन गर्नु राजनीतिक दल र निर्वाचन आयोग दुवैको साझा दायित्व भएको उनको भनाइ छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताको नामावली सार्वजनिक गरिसकेको छ। आसन्न निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन्।