— नेपालले खेलेको पहिलो ओलम्पिकका प्रतिस्पर्धी बक्सर नामसिंह थापाको शनिबार ७९ वर्षको उमेरमा निधन भएको छ ।
गोर्खा सेमेट्री ट्रस्ट हङकङका सचिव अमोद राईका अनुसार थापाको हङकङमै दिउँसो निधन भएको हो । तीन महिनाअघि घरमा लडेपछि उनलाई प्यारालाइसिस भएको र पछिल्लो महिनादेखि थला परेको राईले जानकारी गराए ।
सन् १९६४ मा भएको टोकियो ओलम्पिकमा नेपाली खेलाडीले पहिलो पटक सहभागिता जनाएका थिए । धावकद्वय भूपेन्द्र सिलवाल र गंगाबहादुर थापामगरसहित बक्सरहरू नामसिंह, भीमबहादुर गुरुङ, रामप्रसाद गुरुङ, ओमप्रसाद पुनले टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए । बक्सरहरू सबै हङकङबाटै जापान पुगेका थिए ।
५१ केजी फ्लाइवेटमा पहिलो चरण बाइ पाएका नामसिंह राउन्ड अफ १६ मा अमेरिकाका रोबर्ट जोन कारमेडीसँग आरएससीका आधारमा पराजित भएका थिए । उनले रिङमा २ मिनेट ४५ सेकेन्ड प्रतिस्पर्धा गरे । उनी ओलम्पिकमा खेल्दा १८ वर्षका मात्र थिए ।
२७ वर्ष गोर्खा आर्मीमा काम गरेका उनी गोर्खा क्याप्टेनको रूपमा अवकाश भए । त्यसपछि उनले वेलफेयर अफिसियरका रूपमा तत्कालीन राप्ती अञ्चलमा काम गरेका थिए ।