मुख्य समाचार
सन् २०२५ को एक वर्षमा अमेरिकाबाट ४ सय ८४ नेपाली निष्कासित
सन् २०२५ को एक वर्षमा अमेरिकाबाट ४ सय ८४ नेपाली निष्कासित

— सन् २०२५ को एक वर्षमा अमेरिकाबाट ४ सय ८४ नेपाली निष्कासित भएका छन् । अध्यागमनसम्बन्धी नियन्त्रण र नियमन गर्ने अमेरिकी निकाय यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले कागजातविहीन भएर गैरकानुनी रूपमा बसोबास गर्दै आएका ती नेपालीलाई चरणबद्ध निष्कासित गरेको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको सक्रियतामा गैरकानुनी रूपमा बसोबास गर्दै आएका आप्रवासीलाई नियन्त्रण गर्ने, निष्कासित गर्ने र कानुनी दायरामा ल्याउने योजनालाई कडाइका साथ कार्यान्वयन गरेसँगै अमेरिकाबाट निष्कासित हुने नेपालीको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

आइसको तथ्यांकअनुसार सन् २०१९ देखि २०२४ सम्म ६ वर्षमा जम्मा ३ सय ८९ नेपालीलाई अमेरिकाबाट निष्कासित गरिएको थियो । आइसले सार्वजनिक गरेको पहिलो चरणमा निष्कासित हुने सूचीमा १ हजार ३ सय ६५ नेपाली थिए ।

तीमध्ये जनवरीदेखि डिसेम्बरसम्म ४ सय ८४ जनालाई चार्टर विमान, कतार र भारत हुँदै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको जिम्मा लगाएको हो । जसमध्ये ४ सय २० पुरुष र ६४ महिला छन् ।


जनवरीमा ६, फेब्रुअरीमा १८, मार्चमा ३२, अप्रिलमा २६, मेमा ५८, जुनमा ४२, जुलाईमा १७, अगस्टमा १६, सेप्टेम्बरमा ५३, अक्टोबरमा ३८, नोभेम्बरमा ८० र डिसेम्बरमा ९८ नेपालीलाई निष्कासित गरिएको छ । तथ्यांकअनुसार सन् २०१९ मा १ सय ६२, २०२० मा ९७, २०२१ मा २३, २०२२ मा २८, २०२३ मा २२ र २०२४ मा ५७ नेपाली अमेरिकाबाट निष्कासित भएका थिए ।

वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासले अमेरिकामा बसोबास गर्दै आएका गैरकानुनी नेपालीको यकिन तथ्यांकसँगै निष्कासित भएकाहरूको संख्यात्मक विवरणसमेत नभएको जनाएको छ । राजदूतावासका इकोनोमिक काउन्सिलर युगराज पाण्डेले गैरकानुनी रूपमा अमेरिका बसोबास गर्दै आएका र निष्कासनको सूचीमा परेका सबै नेपाली दूतावासको सम्पर्कमा नआउँदा यकिन तथ्यांक राख्न नसकिएको स्विकारे ।



राजदूतावास द्वितीय अधिकृत जुना अधिकारीले २०२५ मा ४ सय ७ वटा ट्राभल डकुमेन्ट जारी गरिएको बताइन् । ‘ट्राभल डकुमेन्ट जारी गरिएकामध्ये सबै अमेरिकाबाट निष्कासित हुने निश्चित हुँदैनन्,’ उनले भनिन्, ‘आइसको अनुरोधमा ३ सय

९४ वटा डकुमेन्ट बनाइएको हो । तर आइसको अनुरोधमा जसको ट्राभल डकुमेन्ट बनाइयो उनीहरू डिपोर्ट भएका छन् वा छैनन्, हामीलाई आधिकारिक जानकारी आएको छैन ।’

जोसँग राहदानी हुँदैन वा राहदानीको म्याद सकिएपछि यदि तत्काल नेपाल जानुपर्ने छ भने त्यस्तो अवस्थामा ट्राभल डकुमेन्ट जारी गरिने अधिकारीले बताइन् । ‘प्रायः गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका जो निष्कासित हुने अवस्थामा छन्, उनीहरूको राहदानी नहुने भएकाले ट्राभल डकुमेन्ट जारी गरेका छौं । तर ट्राभल डकुमेन्ट जारी गरिएका सबै निष्कासितमा पर्ने हुँदैनन्,’ उनले भनिन् ।

टेक्ससको डालसमा पछिल्लो दुई महिनादेखि सञ्चालनमा आएको नेपाली महावाणिज्य दूतावासका प्रवक्ता प्रवीण भट्टराईले ट्राभल डकुमेन्ट बनाउनेको संख्या वृद्धि भएको बताए । ‘हाम्रो कार्यक्षेत्रमा रहेका आठ राज्यबाट आएका निवेदनमाथि काम अघि बढाउँछौं, तर अन्य राज्यबाट आएका आवेदनलाई पनि प्राथमिकतामै राखेका छौं ।’

२०२५ को एक वर्षमा नेपालीसँगै २० लाख गैरकानुनी आप्रवासी अमेरिकाबाट निष्कासित भइसकेको तथ्यांक छ । १६ लाखले स्वतःस्फूत अमेरिका छाडेको र चार लाखलाई नियन्त्रणमा लिएर निष्कासन गरिएको अमेरिकी अध्यागमनसम्बन्धी उच्च निकाय होमल्यान्ड सेक्युरिटीले दाबी गरेको छ ।

होमल्यान्ड सेक्युरिटीकी सचिव क्रिस्टी नोएमले ट्रम्प प्रशासनले अघि बढाएको योजना र आइसको सक्रियताका कारण स्वस्फूर्त अमेरिका छाड्नेको संख्यामा समेत वृद्धि भएको बताएकी छन् । एक करोड ५८ लाख गैरकानुनी आप्रवासी रहेको अमेरिकामा २० लाख घटेपछि १ करोड ३८ लाख मात्र रहेको होमल्यान्ड सेक्युरिटीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

गैरकानुनी आप्रवासीमध्ये सबैभन्दा बढी मेक्सिको, एल साल्भाडोर, भारत, ग्वाटेमाला, होन्डुरस, चीन, डोमिनिकन रिपब्लिक, भेनेजुयला, ब्राजिल र कोलम्बियाका छन् । गैरकानुनी आप्रवासी निष्कासनसँगै उनीहरूलाई रोजगारी दिने व्यवसायीहरूलाई समेत आइसले पक्राउ गरिरहेको छ । आइसका अनुसार पक्राउ परेका ती व्यवसायीबाट १० लाखभन्दा बढी अमेरिकी डलर जरिवाना लिइएको थियो ।

‘अमेरिकामा गैरकानुनी रूपमा रहेकाहरूलाई पक्राउ गर्ने र निष्कासन गर्ने संख्या बढ्दै जानेछ । यो कार्य निरन्तर कडाइका साथ जारी रहनेछ,’ नोएमले भनिन्, ‘आइसको प्रयास अहिले देशको भित्री भागबाट गिरफ्तारी र निष्कासनमा हुनुपर्छ । त्यो संख्यात्मक हिसाबले पनि देखाएको छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भिजिट भिसा लिएर संयुक्त अरब इमिरेट्स (यूएई) गएका नेपालीले अब उतै गएर वर्किङ भिसा लिन नपाउने भएका छन्। नेपालबाट यूएई भ्रमण तथा बिजनेस भिसामा गएर उतै काम खोजेर वर्किङ भिसामा कन्भर्ट गर्ने नेपालीहरूको संख्या ठूलै छ। तर, यूएई सरकारले विदेशी कामदारका हकमा भिजिट भिसाबाट वर्किङ भिसामा परिवर्तन गर्न नपाउने नयाँ नियम ल्याउँदै छ। गत वर्षको ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विधानसभामा पहिलोपटक दशैँ तथा तिहार उत्सव आयोजना गरिएको छ। सनातन समाज अस्ट्रेलिया क्यानबेराको आयोजना तथा विपक्षी दलका नेता मार्क पार्टनको आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली समुदायको सांस्कृतिक पहिचान, परम्परा र क्यानबेराको विकासमा नेपालीहरूको योगदानको प्रशंसा गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै एसीटीका विपक्षी दलका नेता मार्क पार्टनले नेपाली समुदाय अस्ट्रेलियाका विभिन्न ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपाली श्रमिकका समस्या केवल रोजगारी, तलब र कार्यस्थलसम्म सीमित छैनन्। मृत्यु, शव स्वदेश फिर्ती, दुर्घटनापछिको क्षतिपूर्ति, रक्तधन, जेल, कानुनी प्रक्रिया, बहिर्गमन अनुमति, श्रम स्वीकृति तथा कागजातसम्बन्धी झन्झटसम्मका विषयले नेपाली श्रमिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्दै आएका छन्।यिनै विषयलाई केन्द्रमा राखेर नेपाली राजदूतावास रियादले पहिलोपटक आफ्ना सेवा, गतिविधि र श्रमिकसँग सम्बन्धित ...
। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्यदूतावासले नयाँ राहदानीका लागि आवेदन दिएका सेवाग्राहीलाई हुलाकमार्फत राहदानी डेलिभरीको सुविधा उपलब्ध गराउने भएको छ । महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै राहदानी लिनका लागि मात्र दूतावास आउन समय नमिल्ने तथा यात्रा गर्दा खर्च बढी हुने भएकाले सेवाग्राहीको अनुरोधअनुसार यस्तो व्यवस्था गरिएको जनाएको हो । अब राहदानी आवेदनका क्रममा बायोमेट्रिक ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासमा नेपालको संविधान दिवस झण्डोत्तोलन समारोहसहित मनाइएको छ। बिहीबार ओ’म्यालीस्थित दूतावास परिसरमा आयोजित कार्यक्रममा कार्यवाहक राजदूत तारा गौतमले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेकी हुन्। समारोहलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत गौतमले संविधानले आत्मसात् गरेका लोकतन्त्र, गणतन्त्र, समावेशिता, समानता, सामाजिक न्याय र राष्ट्रिय एकताजस्ता मूल्यमान्यताको स्मरण गरिन्। सोही क्रममा उनले नेपालमा हालैको विनाशकारी बाढीमा ज्यान ...