: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी (सीडिओ) कुमान सिंह गुरुङसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
पर्वतको कुस्मा नगरपालिका-७ को खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवनको भुक्तानी गर्दा वदनियतपूर्ण साँठगाँठमा गैरकानूनी लाभ र स्वार्थको आधारमा भएको भन्दै अख्तियारले उनीहरू विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। गुरुङ तत्कालीन समयमा कुस्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए।
अख्तियारले गुरुङसहित कुस्मा नगरपालिकाका तत्कालीन लेखा अधिकृत कृष्ण प्रसाद शर्मा, तत्कालीन इन्जिनियर आशिष शाक्य, मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्स, पर्वत र उक्त फर्मका प्रोपाइटर लालबहादुर मल्ललाई प्रतिवादी बनाएको छ।
गुरुङ र लालबहादुर मल्ललाई जनही १ करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ बिगो माग गरिएको छ। यसैगरी तत्कालीन इन्जिनियर शाक्यलाई ९६ लाख ४१ हजार सय ७४ रुपैयाँ र तत्कालीन लेखा अधिकृत शर्मालाई १७ लाख २ हजार ३ सय ४१ रुपैयाँ बिगो माग गरिएको छ।
निर्माण व्यवसायीले पेश गरेको अग्रिम भुक्तानी जमानतको आधारमा दुई पटक गरी २१ लाख ७६ हजार रुपैयाँ निर्माण व्यवसायीलाई पेस्की भुक्तानी गरेको देखिएको, निर्माण व्यवसायीबाट निर्माण कार्यमा तोकिएको समयसीमामा निर्माण कार्य नगरी निर्माण व्यवसायी सम्पर्कमा नरहेको अवस्थामा ठेक्का सम्झौता अन्त्य गरी नयाँ ठेक्का प्रक्रियामा जानुपर्नेमा आव २०७९/८० मा सरकारको विशेष अनुदान विनियोजन भएको भनी पुरानो ठेक्का सम्झौताबाट गर्नुपर्ने कार्यसमेतका लागि नयाँ ठेक्का गरी निर्माण गराएको देखिएको आरोपपत्रमा उल्लेख छ।