: संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध घोषणा गरेको छ। अमेरिकी अर्थ मन्त्रालयले बुधबार भेनेजुएलाको तेल कारोबारमा संलग्न चार कम्पनीमाथि प्रतिबन्ध लगाउनुका साथै चारवटा तेल ट्यांकरलाई अवरुद्ध सम्पत्तिका रूपमा सूचीकृत गरेको हो।
उक्त मन्त्रालयले जारी गरेको आधिकारिक विज्ञप्तिअनुसार यी प्रतिबन्धहरू भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथि दबाब बढाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो प्रयासको हिस्सा हुन्। भेनेजुएलाको तेल ओसारपसारमा संलग्न रहेको आरोपमा ती कम्पनी र तिनीसँग सम्बन्धित ट्यांकरहरूलाई लक्षित गरिएको विज्ञप्तिमा उल्लेख छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले विज्ञप्तिमा भने, ‘राष्ट्रपति ट्रम्प स्पष्ट हुनुहुन्छ—अवैध मदुरो शासनले तेल निर्यातबाट नाफा कमाउन पाउँदैन, विशेष गरी जब त्यसले अमेरिकामा घातक लागुपदार्थको बाढी ल्याइरहेको छ।’ उनले अर्थ मन्त्रालय राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार मदुरो शासनमाथि दबाब बढाउने अभियान कार्यान्वयन गर्न निरन्तर लागिरहने स्पष्ट पारे।
एजेन्सी