: नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगित गरेपछि शुक्रबार दिउँसो ३ बजेका लागि कार्यसम्पादन समिति बैठक आह्वान भएको छ ।
कांग्रेसका नेताहरुबिच महाधिवेशनको विषयमा सहमति जुट्न नसक्दा पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक अगाडि रणनीति तय गर्न संस्थापन पक्ष र संस्थापनइत्तर पक्ष गुटगत र समूहगत छलफलमा जुटेका छन्।
यसैबिच विशेष महाधिवेशनका हस्ताक्षरकर्ताहरुले अनामनगरमा आज पत्रकार सम्मेलनको आयोजना गरेका छन्। उनीहरुले कार्यतालिका अनुसार नियमित महाधिवेशन नगरेकाले विशेष महाधिवेशन अनिवार्य भएको जानकारी गराएका छन्।
उनीहरुले कांग्रेसको विधानमा आवश्यक देख्यो भने ९० दिनभित्र विशेष महाधिवेशन बोलाउनै पर्ने प्रावधान रहेको उल्लेख गरे। विशेष महाधिवेशनका लागि पक्षधर समूहले बिहीबार भृकुटीमण्डप पनि बुक गरिसकेको छ । पार्टी विधान र बहुमतद्वारा चल्ने उनीहरुको मत छ।
महाधिवेशन प्रतिनिधिले भनेका छन्,‘२६-२८ को महाधिवेशन प्रभावित भएको छ । १६ गते हुनुपर्ने वडा अधिवेशन हुन सकेन, तर केन्द्रीय कार्यसमिति यसप्रति सामान्य जवाफदेही समेत नदेखिनु विडम्बनाको विषय हो । अहिले १५ औं महाधिवेशनको कार्यतालिकाका कार्यक्रम स्थगित भइसकेका छन् । अर्थात घोषित मितिमा १५ औं महाधिवेशन नहुने कुरा स्पष्ट भइसकेको छ ।’
कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले आफ्नो विधानको बाध्यकारी व्यवस्था नमान्ने हो भने संविधान, विधिको शासनको वकालत गर्दै नागरिकमा जाने नैतिक धरातल कसरी रहन्छ ? भन्दै प्रतिनिधिहरुले प्रश्न उठाएका छन्।
विशेष महाधिवेशन, महाधिवेशन प्रतिनिधिको विशेष वैधानिक अधिकार भएको उल्लेख छ। ‘नेपाली कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प बाँकी रहेन। विशेष महाधिवेशन, महाधिवेशन प्रतिनिधिको विशेष वैधानिक अधिकार हो । यो कसैको छनोटको विषय होइन, रहेन । नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले आफ्नो विधानको बाध्यकारी व्यवस्था नमान्ने हो भने संविधान, विधिको शासनको वकालत गर्दै नागरिकमा जाने नैतिक धरातल कसरी रहन्छ ? अतः पार्टी विधानभन्दा माथि कोही पनि हुन सक्दैन । विधानको बाध्यकारी व्यवस्थाको पालना गर्नु पार्टी नेतृत्वको न्यूनतम जिम्मेवारी हो ।’