: इरानमा बढ्दो महँगी र बिग्रँदो आर्थिक अवस्थाविरुद्ध पछिल्ला तीन वर्षयताकै ठूलो प्रदर्शन भएको छ। बीबीसी अरबी सेवाका अनुसार प्रदर्शनको पाँचौं दिन बिहीबार देशका विभिन्न शहरमा भएका घटनामा कम्तीमा सात जनाको मृत्यु भएको छ।
प्रदर्शनका क्रममा केही प्रदर्शनकारीहरूले इरानका सर्वोच्च नेताको शासन अन्त्यको माग गरेका छन् भने केहीले राजशाही पुनःस्थापनाको नारा लगाएका छन्।
बिहीबार सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपका क्रममा सवारीसाधनमा आगजनी गरिएको देखिन्छ। उक्त झडपमा प्रदर्शनकारीहरूले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेका थिए भने सुरक्षाकर्मीहरूले जवाफी कारबाहीस्वरूप गोली र अश्रुग्यास प्रयोग गरेका थिए।
इरानको सरकारी समाचार एजेन्सी फार्स र मानवअधिकार संस्था हेंगावका अनुसार दक्षिण-पश्चिमी इरानको लोरेस्तान शहरमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा तीन जनाको मृत्यु भएको छ।
फार्सले देशको पश्चिमी क्षेत्रमा पर्ने अंजना शहरमा थप तीन जना र कुहदाश्तमा एक जनाको ज्यान गएको जानकारी दिएको छ।