— कास्की कारागारबाट फरार भएका २ जना कैदीलाई लमजुङ प्रहरीले पक्राउ गरी सम्बन्धित कारागारमा बुझाएको छ ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कास्की कारागारबाट फरार भएका उनीहरु लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका हुन्।
जिल्ला प्रहरी लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक अभिषेक पाण्डेका अनुसार चोरी मुद्दामा कैद सजाय भोगिरहेका लमजुङ बेंसीसहर नगरपालिका–१० खासुरबेंसीका ३५ वर्षीय टेकबहादुर गुरुङ र ज्यान मार्ने उद्योग मुद्दाका दोर्दी गाउँपालिका–४ कुप्लिङका २८ वर्षीय कुमार विकलाई पक्राउ गरी बिहीबार सम्बन्धित कारागारमा बुझाइएको हो ।
लमजुङ प्रहरीका अनुसार हालसम्म फरार ४८ जना कैदी तथा थुनुवालाई पक्राउ गरी सम्बन्धित कारागारमा बुझाइएकाे छ।
अझै केही कैदी तथा थुनुवा फरार रहेकाले उनीहरु लुकिछिपी बसेको सूचना भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन जिल्ला प्रहरी लमजुङका प्रमुख डिएसपी रेशम बोहराले अनुरोध गरेका छन् । सूचना दिने व्यक्तिको नाम र ठेगाना गोप्य राखिने उनले बताए ।
गत असार ३२ गते लमजुङ कारागारको गेटनजिकको पर्खाल भत्किँदा सुरक्षा जोखिम बढेपछि कारागारमा रहेका १ सय ९ जना कैदी तथा थुनुवालाई साउन ३ गते कास्की र तनहुँ कारागारमा स्थानान्तरण गरिएको थियो। उनीहरु जेनजी आन्दोलनको मौका पारेर फरार भएका थिए ।