: साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न तेस्रो तथा पुरुषतर्फको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै हेल्प नेपाल फाइनलमा पुगेको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा हेल्प नेपालले पुलिसलाई क्रमशः २५-२१, २५-२३ र २५-२२ को सहज सेटमा हराएको हो। अपरान्ह ४ बजे सुरु हुने पुरुषको दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले रुकुम पश्चिम ट्रेनिङ सेन्टरसँग खेल्दै छ।
यो खेलको विजेताले हेल्प नेपालसँग शनिबार फाइनल खेल्ने छ। फाइनल खेल शनिबार दिउँसो ३:३० बजे हुनेछ। महिलातर्फको उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब भिड्ने भएका छन्। महिला तर्फको दोस्रो सेमिफाइनल विभागीय डर्बीको थियो । जसमा त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हराउँदै पुलिस फाइनलमा पुगेको हो।
आज भएको पहिलो सेमिफाइनलमा न्यु डायमण्डले नेपाल एपीएफ क्लबलाई २५-१७, २५-२० र २५-७ गरि ३-० को सोझो सेटमा हराउँदै फाइनलमा पुगेको थियो।