: गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ। गैरन्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको भन्दै खारेज गर्नुपर्ने मागका साथ समितिको अगुवाइमा बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरिएको हो।
प्रदर्शनकारीहरुले भूमि हाम्रो प्राण हो, गैरन्यायिक रुपमा खोला तथा सडक मापदण्ड खारेज गर, स्थानीयलाई उठिबास लगाउन पाइँदैन लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
सडक तथा खोला मापदण्डका नाममा ८४ हजार भन्दा बढि घरधुरीको उठिवास लाग्ने अवस्था आएकोले विरोध प्रदर्शन गर्नुपरेको समितिले जनाएको छ। २०८० साल पुस ३ गते सर्वोच्च अदालतले २० मिटर मापदण्ड तोकेर ४० मिटर दायाँबायाँ कायम गर्न आदेश दिएको थियो।
मापदण्ड निर्धारण गर्ने सरकारको निर्णय अनुसार नै पीडित रहेको अवस्थामा पछि सर्वोच्चको फैसलाले थप आफूहरू पीडामा परेको भन्दै उक्त फैसला कार्यान्वयन गर्न नदिन दबाब सिर्जना गरिएको अभियन्ता राजाराम तण्डुकारले बताए।
समितिले २०६५ मंसिर १ गते सरकारले जारी गरेको खोला मापदण्ड समेत खारेज हुनुपर्ने माग गरेको छ।