— नयाँ वर्षको पूर्वसन्ध्यामा स्विस क्रान्स मोन्टानास्थित एक बारमा आगलागी हुँदा कम्तिमा ४० व्यक्तिको मृत्यु भएको र १ सय जना घाइते भएको स्विस अधिकारीहरुले जनाएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर छ ।
दक्षिण पश्चिमी स्विजरल्यान्डको वालिस क्यान्टनका प्रहरी प्रवक्ता गेटान लाथिओनका अनुसार, बिहान १:३० बजे ‘ले कन्स्टेलेसन’ नामक स्की रिसोर्टमा बिस्फोट र आगलागी सुरु भएको थियो । भवनमा नयाँ वर्षको उत्सव मनाउन ठूलो संख्यामा मानिस भेला भएका थिए ।
वालिस क्यान्टोनका सुरक्षा प्रमुख स्टेफाने गान्जरले कतिपय पीडितहरू विदेशी नागरिक रहेको बताए ।
घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रक र उद्धारकर्मीहरूको ठूलो टोली तुरुन्तै पुगेको र धेरै पीडितलाई उद्धार गरिएको जनाइएको छ ।
स्विस मिडियाले प्रकाशित गरेको तस्बिरमा आगो लागेको भवन र मानिसहरू चिच्याउँदै भागिरहेको दृश्य देखाइएको छ । प्रहरीले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ ।