: सुनसरीको कोशी गाउँपालिकास्थित लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर सिटी सफारी चालकको मृत्यु भएको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ। सुनसरीको कोशी गाउँपालिकाको लौकही स्थित ३ नम्बर पोस्टमा बुधबार राति सशस्त्र प्रहरीको गोली लागेर स्थानीय विजय साहको मृत्यु भएको थियो।
साहको मृत्यु भएपछि स्थानीयले विरोध जनाउँदै पूर्व पश्चिम राजमार्गको लौकहीमा सडक बन्द गरेर प्रदर्शन गरिरहेका छन्। सशस्त्र प्रहरीको गोली लागेर साहको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपाने संयोजक तथा जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र न्यौपाने र राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका अनुसन्धान अधिकृत सदस्य रहेको तीन सदस्य छानबिन गठन गरेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए।
मृतक विजय साह कोशी गाउँपालिका–१ का बासिन्दा हुन्। उनी सिटी सफारी चालक हुन्। भारतबाट तीनवटा अटो र सिटिसफारी नेपालतर्फ आउँदै गर्दा अगाडिको अटोबाट सशस्त्र प्रहरीलाई लक्षित गरी गोली प्रहार भएपछि आत्मरक्षाका लागि जवाफी फायरिङ गर्नु परेको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी)निर्मलकुमार थापाले बताए।
उनले तस्कर समूहले पहिले गोली चलाएपछि पोस्टमा तैनाथ सशस्त्र प्रहरीले आफ्नो ज्यान जोगाउन बाध्य भएर गोली चलाएको बताए। स्थानीयले सशस्त्रले बिना साहको हत्या गर्नु गलत भएको भन्दै बन्द गराएको सडक अझै खुलेको छैन। जसका कारण सयौं यातायातका साधनबीच बाटोमा अलपत्र परेको यातायात व्यवसायी गोपाल बरालले बताए।