: नेपाली कांग्रेसका नेता शेखर कोइरालाले व्यक्तिगत महत्वाकांक्षालाई समाप्त गरेर भावी राष्ट्रिय निर्वाचनमा होमिनुको विकल्प नभएको बताएका छन्। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा शुभकामना दिँदै उनले राष्ट्रिय मेलमिलापको सान्दर्भिकता र महत्व आज कांग्रेस एक्लैको विषय नभएको बताए।
‘राष्ट्रिय एकता र मेलमिलापको लागि आज सत्ता राजनीति भन्दा माथी सार्वभौम सम्पुर्ण नेपालीहरुको जागरुक सतर्कता सहित ऐक्यवद्धताको खाँचो रहेको छ।’ उनले भने,‘राष्ट्रिय एकता र मेलमिलापले मात्र हामीले हाम्रो देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षा गर्न सक्छौँ भनी विपी सन्देशको मर्मलाई आज यो देशको सोच, उद्धेश्य र साझा प्रतिवद्धता बनाउने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा छ।
जसरी विपीले सम्भावित व्यक्तिगत खतरा र राष्ट्रको अस्तित्वको खतरा सामु नगण्य भन्ठानेर ऐतिहाँसिक निर्णय लिएर प्रवासवाट स्वदेश फर्कनु भएको थियो, आज लोकतन्त्रको रक्षार्थ र भावी युवा पुस्तालाई शान्ति र समृद्धीको गोरेटो कोरेको नेपाल हस्तान्तरण गर्न हामीले हाम्रा अप्रिय विवाद, मतभिन्नता र व्यक्तिगत महत्वाकांक्षालाई समाप्त गरेर भावी राष्ट्रिय निर्वाचनमा होमिनुको बिकल्प छैन।’
कांग्रेस भित्रको एकता र मेलमिलाप राष्ट्रिय एकता र मेलमिलापको प्रथम खुडकिलो मात्र होइन राष्ट्रको आवश्यक तत्व हो भनी हामी सवैले मनन गर्न जरुरी रहेको उनलेको भनाई छ। ‘वर्तमान राजनीतिक परिस्थितिमा हामीलाई जनताले विश्वास र भरोसा गरे मात्र हाम्रो सान्दर्भिकता देशमा रहने हो, यो गम्भिर तथ्यमा चुक्यौँ भने हामी भूमिका बिहिन हुने खतरा रहन्छ।’ उनले भने, ‘राजनीतिक परिदृष्यमा उदाएका नयाँ चुनौतिहरुको सामना गर्न हामीसँग सम्पुर्ण एकताको विकल्प छैन। नेपाली कांग्रेसले राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका खेल्न सम्भव छ।’