: बूढीगण्डकी नदीमा करेन्ट तथा विषादी प्रयोग गरी माछा मार्न नपाइने भएको छ। आरुघाट गाउँपालिकाले बुधबार सूचना प्रकाशित गरी करेन्ट लगाएर तथा विषादी प्रयोग गरी बूढीगण्डकीको माछा मार्न कडा प्रतिबन्ध लगाएको जनाएको हो।
‘यस्ता घातक विधिको प्रयोगबाट जलचरको विनाश हुनुका साथै वातावरणीय सन्तुलनमा गम्भीर असर पर्ने र मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्तिने भएकाले खोला वा जलाशयमा विद्युतीय करेन्ट प्रवाह गरी माछा मार्न पूर्ण रूपमा निषेध गरिएको छ’, प्रशासकीय अधिकृत विवेक खनालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘खोला, नदीमा कुनै पनि रासायनिक विष तथा जडिबुटीजन्य घातकतत्व जलाशयमा हाल्न पाइने छैन।’ महाजाल वा साना प्वाल भएको जाल प्रयोग गरी स–साना भुरा माछा मार्न समेत प्रतिबन्ध लगाइएको सूचनामा उल्लेख छ।
सूचनाको उल्लंघन गरी माछा मारेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गर्ने सूचनामा उल्लेख छ।