: गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको प्रमुख प्राथमिकता निर्वाचन भएको बताएका छन् । सरकारको उद्देश्य सत्तामा टिकिरहने नभइ तोकिएको समयमै निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु रहेको उनले स्पष्ट पारेका छन् ।
विराटनगरमा बुधबार आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सरकारको सम्पूर्ण ध्यान निर्वाचनमार्फत सुशासन र राजनीतिक स्थिरता सुनिश्चित गर्ने दिशामा केन्द्रित रहेको उल्लेख गरे ।
गृहमन्त्री अर्यालले लोकतन्त्रको आधार नै निर्वाचन भएको उल्लेख गर्दै आवधिक निर्वाचन बिना सुशासन सम्भव नहुने स्पष्ट पारे । निर्वाचन नहुँदा राज्य व्यवस्था कमजोर हुने र देश अस्थिरतातर्फ धकेलिने खतरा बढ्ने उनको भनाइ थियो । 'निर्वाचन लोकतन्त्रको अनिवार्य प्रक्रिया हो । सुशासन कायम गर्न चाहने हो भने आवधिक निर्वाचनको कुनै विकल्प हुँदैन । ताजा जनादेश प्राप्त सरकारले मात्र दृढताका साथ काम गर्न सक्छ । त्यसैले सरकारले निर्वाचनलाई पहिलो प्राथमिकतामा राखेको छ,’उनले भने ।
दिन गनेर सत्तामा बस्ने भन्दा पनि तोकिएको समयमा निष्पक्ष,स्वतन्त्र र धाँधलीरहित हिसाबले निर्वाचन सम्पन्न सरकार लागिरहेको उनको भनाइ छ । उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक सबै तयारी अघि बढिसकेको जानकारी पनि दिए ।
निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको र सोहीअनुसार प्रक्रिया अघि बढिरहेको अर्यालले बताए । समानुपातिक प्रणालीतर्फका नामावलीसमेत निर्वाचन आयोगमा दर्ता भइसकेको उल्लेख गर्दै उनले सरकारले निर्वाचनलाई निष्पक्ष,स्वतन्त्र र सुरक्षित रूपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । जेनजी जनआन्दोलनपछिको असहज र संवेदनशील परिस्थितिलाई सामान्यीकरण गर्न सरकार सफल भएको दाबी गृहमन्त्री अर्यालको छ ।
गृहमन्त्रालयको जिम्मेवारी चुनौतीपूर्ण भए पनि सुरक्षाको प्रत्याभूति दिन सरकार सक्रिय रूपमा लागिरहेको उनले बताए । शान्ति सुरक्षा कायम गर्दै नागरिकलाई ढुक्क भएर मतदान गर्ने वातावरण सिर्जना गर्नु सरकारको दायित्व भएको उनको भनाइ थियो ।
कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीले प्रदेशको समग्र सुरक्षा अवस्था मूल्यांकन गर्न,सम्भावित जोखिम पहिचान गर्न र निर्वाचनका लागि प्रभावकारी सुरक्षा योजना तयार गर्न ठोस सहयोग पुग्ने विश्वास पनि उनले व्यक्त गरे ।
केन्द्र,प्रदेश र स्थानीय तहबीच समन्वय सुदृढ गर्दै निर्वाचनलाई सफल बनाइने उल्लेख गर्दै गृहमन्त्री अर्यालले लोकतान्त्रिक प्रक्रियाप्रति सरकार दृढ रहेको सन्देश दिएका छन् ।