: विराटनगरमा मंगलबार राति स्कुटर दुर्घटनामा परेर एकजना भारतीय युवकको मृत्यु भएको छ । अर्का भारतीय युवक घाइते भएका छन् । प्रहरीका अनुसार कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–१४ स्थित देउराली होटलअगाडि बीआर ३८ एम ११७८ नम्बरको स्कुटर आफैं अनियन्त्रित भएर राति १०:२० बजेतिर दुर्घटनामा परेको हो । विराटनगरबाट जोगवनीतर्फ जाँदै गरेको स्कुटर दुर्घटना हुँदा चालक भारत अररिया छोटी मस्जिद बस्ने २५ वर्षीय मोहमद राजाको मृत्यु भएको छ ।
मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार दुर्घटनामा स्कुटर चालक राजा र पछाडि सवार अररिया छोटी मस्जिद बस्ने २० वर्षीय मोहमद इमरान गम्भीर घाइते भएका थिए ।
घाइते दुवैजनालाई उपचारका लागि कोशी अस्पताल पठाइएको थियो । अस्पताल पुर्याउनसाथ राजालाई चिकित्सकले मृत घोषित गरिदिएको जानकारी इन्स्पेक्टर न्यौपानेले दिए ।
घाइते अवस्थाका इमरानको उपचार जारी छ । स्कुटर इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा छ । इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ । स्कुटरको तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।