: जनता समाजवादी पार्टी (जसपा ) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन वा पुर्नलेखन नगरिए च्यातेर अर्को संविधान जारी गरिने बताएका छन् । मंगलबार वीरगन्जमा जसपा नेपालले आयोजना गरेको जनप्रदर्शन तथा विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले अहिलेको संविधान मधेसी, जनजाति, अल्पसंख्यक लगायतका समुदाय विरोधी र विभेदकारी रहेकोले बताएका हुन् ।
उनले भने,‘संविधान पुर्नलेखनका लागि फेरि एकपटक जसपा नेपालले आन्दोलन गर्छ । आन्दोलन गर्दापनि पुर्नलेखन गरिएन भने यो संविधान च्यातेर अर्को संविधान जारी गर्न बाध्य बनाउँछौं ।’
यादवले फागुन २१ को निर्वाचन अगाडि नै संविधान संशोधन वा पुर्नलेखन गरिनुपर्ने माग जसपा नेपालको रहेको बताए । सरकार र जेनजी प्रतिनिधिहरुबीच भएको १० बुँदे सम्झौताको कार्यान्वयन निर्वाचन अगाडि नै हुनुपर्ने आफूहरूको माग रहेको अध्यक्ष यादवले सुनाए । उनले भने,‘किनकि भ्रष्टचारीलाई कारबाही,सुशासन कायम, शासनसत्तामा परिवर्तन, राजनीतिक स्थिरता लगायत जेनजी आन्दोलनका एजेण्डाहरु जसपा नेपालले पहिलेदेखि नै उठाउँदै आएको थियो । त्यसका कारण जेनजीसंग सरकारले गरेका सम्झौता चुनाव अगाडि नै कार्यान्वयनमा ल्याउनुपर्छ ।’
तर विगतका सरकारले मधेसी जनतालाई ठगेको जस्तै अहिलेको सरकारले पनि जेनजी पुस्तालाई धोका दिइरहेको आरोप अध्यक्ष यादवले लगाए । उनले भने,‘सरकारले जेनजीलाई ठगिरहेको छ, धोका दिइरहेको छ । जेनजीले बगाएको रगत र दिएको शाहदतमाथि सरकारले मजाक गरिरहेको छ।’
मधेस आन्दोलनको बलबाट प्राप्त संघीयता, लोकतन्त्र लगायतका उपलब्धि मास्ने षडयन्त्र अहिलेपनि भइरहेको भन्दै उनले ती उपलब्धीहरुको रक्षाका लागि नै जसपा नेपाल फागुन २१ को निर्वाचनमा सहभागी हुन लागेको स्पष्ट पारे । उनले अबको निर्वाचनबाट कांग्रेस र कम्युनिष्टलाई जनताले पुन: सत्तामा आउन दिनबाट बञ्चित गर्नुपर्ने बताए। उनले फेरि उनीहरु आए देश पहिलेको ३५ वर्षजस्तै फेरि बर्बादीको बाटोमा जाने बताए ।