: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाउन नसकेको दाबी गरेका छन्। रिटर्नी फेडेरेसन नेपालको स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उनले दलहरुलाई निषेध गरेर निर्वाचन हुन नसक्ने बताएका हुन्।
उनले भने,‘दलहरुको विकल्प दलहरु मात्र हुन सक्छ। दलहरूलाई निषेध गरेर निर्वाचन हुन सक्दैन।’
देशमा राजनीतिक स्थायित्व, सुशासन र समृद्धिमा नेकपा एमालेको नीति र रिटर्नीको भूमिका विषयमा आयोजित नीति संवादमा पौडेलले विदेशबाट फर्केकाहरुको सीप र पुँजीलाई एकीकृत गरेर देश विकासमा लगाउनुपर्ने बताए।
उनले नवयुग ईन्भेस्टमेन्ट जस्ता कम्पनी खोलेर रिटर्नी फेडेरेसनले सातै प्रदेशमा उदाहरणीय काम गर्न आग्रह गरे। उनले सही नीति र नेतृत्वले मात्र देश समृद्ध बन्ने बताए।
एमाले केन्द्रीय कमिटी सदस्य माधव ढुंगेलले छोटो समयमा फेडेरेसनले पार्टीमा आफ्नो परिचय निर्माण गरेको बताए। रिटर्नीको क्षमता र योगदानको क्षेत्रलाई राजनीतिक पार्टीहरूले बुझ्न आवश्यक रहेको बताउँदै उनले रिटर्नीहरु देश निर्माणका शक्ति भएको टिप्पणी गरे।
राजनीतिक स्थायित्व बिना देश समृद्ध नहुने धारणा राख्दै उनले ५ वर्षे स्थायी सरकारले मात्र विकास निर्माणको खाका कोर्न सक्ने स्पष्ट पारे।