: चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी भोलिदेखि सञ्चालनमा आउने भएको छ। गत आइतबारबाट सवारी चालकका लागि आवतजावत खुला गरिएको भए तापनि आयात-निर्यात भने सुरु भएको थिएन।
गत असार २४ गते आएको बाढीले क्षतिग्रस्त भएको रसुवागढीस्थित मितेरी पुल गत शनिबार निर्माण सकिएको थियो। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले भोलिदेखि नाकाबाट आयात निर्यात सुरु हुने जानकारी दिए। उनले भने, ‘गत आइतबारदेखि नाकामा ढुवानी गर्दै आएका सवारीचालक चीनतर्फ गएका थिए। जनवरी १ देखि एकतर्फी पालैपालो प्रणालीमा सवारी आवागमन सञ्चालन हुनेछ।’
भोलिखि भन्सार कार्यालयले भित्रिने र बाहिरिने सवारीसाधनको निरीक्षण गरी आवागमन अनुमति दिनेछ। यस अवधिमा एकतर्फी पालैपालो आवागमन प्रणाली कडाइका साथ लागू गरिने चिनियाँ पक्षले जनाएको छ। जी२१६ सीमा क्षेत्रमा सडक कालोपत्रेको काम भइरहेकाले जनवरी १ देखि जनवरी ८ सम्म आधा मार्ग मात्र सीमापार आवागमनका लागि प्रयोग हुनेछ।
यस अवधिमा चिनियाँ समयअनुसार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म आवागमन खुला रहनेछ भने बाँकी समय दुवैतर्फबाट आवागमन नियन्त्रण गरिनेछ। जनवरीपछि चिनियाँ समयअनुसार बिहान ९ देखि १ बजेसम्म (सामान्य भन्सार समयभन्दा १ घण्टा बढी) सवारीसाधन प्रवेशका लागि खुला रहनेछ। दिउँसो २ देखि ७ बजेसम्म अस्थायी रूपमा सञ्चालन गरिनेछ।
२०७६ जेठदेखि सञ्चालनमा आएको उक्त पुल बाढीले बगाएसँगै दुई देशबीचको सडक सञ्जाल टुटेको थियो। २०७७ सालमा आएको बाढीले उक्त पुलमा क्षति गरेपछि मर्मत गरेर पुनः सञ्चालनमा ल्याइएको थियो। चीनबाट बग्ने लेन्दे खोलामा बाढीले बर्खाको बेलामा क्षति गर्ने गरेको छ। जसको कारण दुई देशबीचको सडक सञ्जाल टुट्ने गरेको छ।
उक्त पुल चिनियाँ लगानीमा निर्माण भएको थियो। जीर्ण अवस्थामा रहेको पुल २०७२ सालमा आएको भूकम्पले थप क्षति गरेपछि पुलको पुनर्निर्माण तिब्बत इन्जिनियरिङ कम्पनी लिमिटेड तान सुन रोड एन्ड ब्रिजले गरेको थियो। व्यापारिक कारोबार बढ्दै गएपछि पहिले भएको भन्दा ५ मिटर उत्तरपूर्वमा पुल निर्माण गरिएको थियो।