: लामो समयदेखि अनलाइन ठगीको धन्दा चलाउँदै आएका एक गिरोहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। स्थानीय सर्वसाधारणको नागरिकताको दुरुपयोग गरी आइडि वालेट मार्फत अनलाइन ठगी गरेको आरोपमा ६ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो। वैदेशिक रोजगारीको क्रममा आफन्तले रेमिट्यान्स मार्फत पठाएको रकम झिक्न जाँदा नागरिकताको प्रतिलिपि र फोटो आवश्यक पर्ने भन्दै स्थानीयको नागरिकतालाई दुरुपयोग गरेर अनलाइन ठगी गर्दै आएको गिरोहलाई धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।
बुधबार जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रहरीले धनुषाका गणेशमाण चारनाथ नगरपालिका-१ घर भई धनुषाधाम नगरपालिका-९ धारापानी चौकमा मामा–भान्जा ट्रेडर्स (आइएमई) सञ्चालक विनोद भन्ने विशाल भुजेल, धनुषाधाम ९ घर भई दिपशिखा मोबाइल पसलका सञ्चालक ३७ वर्षीय सन्तोष मण्डल, धनौजी गाउँपालिका २ बस्ने २५ वर्षीय साधु राम, धनौजी गाउँपालिका २ घर भई हाल जनकपुरधाम शिवचौकमा डेरा गरी बस्ने २२ वर्षीय बलराम मण्डल, धनौजी गाउँपालिका २ बस्ने २० वर्षीय रुपेश कुमार साह र १९ वर्षीय निक्की कुमार रामलाई पक्राउ गरेको हो।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेश बहादुर बमका अनुसार आइएमई सञ्चालकले झुक्याएर धारापानी क्षेत्रका २९ जनाको कागजातको प्रयोग गरी वालेट एकाउन्ट बनाएर सामान बेच्ने नाममा रकम लिएर ठगी गर्दै आएका तथ्य भेटिएको जानकारी दिए। प्रहरीले २९ वटा वालेटमा ३९ लाख २० हजार ६५ हजार रुपैयाँको कारोबार भएको जनाएको छ। साथै अहिले पनि ४ लाख रकम सोही वालेटहरूमा ब्लक रहेको जानकारी दिए। प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीको मोबाइल १९ थान, ल्यापटप ४ थान, एप्पल आइप्याड १२ थान, ठगीमा प्रयोग भएका सिम २० थान, सिम कार्डको सिरियल नम्बर तथा सिम कार्ड नम्बर मात्र खुल्न आएको कभर ५५ थान, इन्टरनेट राउटर ३ थान बरामद गरेको हो।
झुक्याएर लिन्थे नागरिकता र फोटो
धनुषा प्रहरीको अनुसन्धानबाट आइएमई सञ्चालक भुजेलले विभिन्न देशबाट रेमिट्यान्स आएको रकम निकाल्न गएकाहरूलाई रुपैयाँ झिक्न नागरिकताको प्रतिलिपि र फोटो आवश्यक पर्ने माग्ने र वालेट बनाउने गरेको तथ्य खुलाएको छ। प्राप्त कागजातबाट वालेट एकाउन्ट बनाएर छिमेकी मोबाइल पसले सन्तोष मण्डललाई भुजेलले प्रति वालेट आईडी वापत १५ सय देखि २ हजारसम्म लिने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको हो। मण्डलले मोबाइल पसलमा नयाँ सिम कार्ड खरिद गर्न आउने सेवाग्राहीहरूलाई झुक्याएर उनीहरूको मागभन्दा धेरै मात्रामा सिम कार्ड दर्ता गरी सिम कार्डबाटै वालेट खोल्ने प्रयोजनका लागि भुजेललाई दिने गरेका थिए। मण्डलले भेरिफाइड वालेट आइडीबाट अनलाइन ठगी गर्ने साधुराम समेतलाई ६ हजार देखि १० हजार सम्मका दरले बेच्ने गरेको प्रहरीको भनाइ छ।
साधुरामले उक्त वालेटको क्यूआर कोड अन्य ठगी गर्नेहरूलाई पठाएर त्यसमा रकम मगाउने गरेको र त्यसवापत २५ देखि ३० प्रतिशतसम्म कमिसन लिने गरेको बाँकी रकम ठगी गर्नेलाई दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो। बलराम, रुपेश र निक्कीले सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाएर लत्ता कपडा, फर्निचर, मोटरसाइकल लगायतको विभिन्न सामानको फोटो तथा भिडियो राखेर पोस्ट गरी सर्वसाधारणलाई ठगेर वालेटमा रकम मगाउने गरेको प्रहरीको दाबी छ।
प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले आइटी पढ्दै गरेका, राम्रो कलेजमा अध्ययन गर्दै गरेका तथा सोसल मिडियामा सक्रिय रहेकाहरू ठगीमा संलग्न रहेको बताए। उनले भने, ‘ठगी कार्यमा जसको कागजात प्रयोग भएको छ। उसलाई यसबारे केही थाहा नै छैन। तर बजारमा नाम एउटाको तर ठगी अर्कैले गरिरहेको अनुसन्धानबाट खुल्न आएको छ। फेला परेको सिमहरू प्रायः ३३ हजार केभिएको ढल्केवर ट्रान्समिसन लाइनमा काम गर्ने नेपाली तथा भारतीय कामदारहरूले सिम लिन जाँदा पसलेले झुक्याएर धेरै सिम निकाल्ने गरेको थियो।’
धनुषाका प्रहरी प्रमुख कुँवरका अनुसार अनलाइन ठगी थप हुन सक्ने आशंका भएकोले थप अनुसन्धान अघि बढाइएको जानकारी दिए। साथै अनलाइन ठगीमा पर्नेहरूलाई जिल्ला प्रहरी कार्यालय तथा मातहतका निकायमा उजुरी दिन समेत आग्रह गरे। उनले भने, ‘यो हाम्रो प्रारम्भिक अनुसन्धान हो थप अनुसन्धान म्याद थप पछि हुन्छ। घटनाको अझ विस्तृत अनुसन्धान बाँकी छ।’