: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि पनि एमाले र कांग्रेसबाहेक अरु दलले सरकार बनाउनै नसक्ने बताएका छन्। मदन–आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले पछिल्ला दिनमा प्रधानमन्त्री पद जस-जसले सहमति गरेर बाँडेपनि एमाले–कांग्रेसबाहेक अरुले सरकार बनाउन नसक्ने दाबी गरेका हुन्।
‘कसैलाई प्रधानमन्त्री, कसैलाई पार्टी अध्यक्ष बाँड्नु हास्यास्पद छ। प्रधानमन्त्रीमा हल्ला चलेको व्यक्ति अलि बाठै होला भन्ने ठानेको तर निर्णय देख्दा हाँस्यास्पद लाग्यो।’, अध्यक्ष ओलीले भने, ‘पार्टी सभापति एउटालाई, उपसभापति अर्कालाई, पार्टी अर्कालाई जिम्मा लाएर आफू प्रधानमन्त्री भनिएको छ। यो भदौमा सिंहदरबार आगो लगाउने बेलामा प्रधानमन्त्री बाँडे जस्तै हो। जसलाई जहाँ भेट्यो, त्यहाँ प्रधानमन्त्री बाँडेर हुँदैन।’
उनले घैँटाको पानीले सागर बन्न नसक्ने र भेडा बाग्राहरुको मोर्चाबन्दीले सिंहलाई कुनै फरक नपर्ने टिप्पणी गर्दै एमाले र काँग्रेसजस्ता दलह ठूला र पुराना लोकतान्त्रिक शक्ति भएको जिकिर गरे।
उनले निर्वाचन हुन सक्ने वातावरण नभएकाले असंवैधानिकरुपमा विघटन भएको संसद पुनःस्थापना हुनुपर्ने बताए। सरकार बनाउने र हटाउने थलो संसद भएकोले यसलाई असंवैधनिक व्यक्तिले विघटन गरेर संविधानलाई संकटमा पारेको उनको भनाइ थियो। अध्यक्ष ओलीले संसद पुनः स्थापनाबारे सर्वोच्च अदालतले चाँडो न्याय दिनुपर्नेमा पनि जोड दिए।