: कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु हाम्रो साझा दायित्व भएको बताएका छन्। नयाँ वर्ष २०२६ को शुभकामना दिँदै उनले तरल राजनीतिक परिस्थितिमा अग्रगामी शक्तिहरूबीच आपसी समझदारी र राष्ट्रिय एकता आजको महत्वपूर्ण आवश्यकता बनेको बताएका हुन्।
‘हामीबाट बिदा भएको वर्ष सन् २०२५ मा जेन–जी युवापुस्ताको आन्दोलनले राजनीतिक परिवर्तनको नयाँ अध्यायको संकेत गरेको छ। यसले पुराना संरचना, कार्यशैली र परिपाटीमा गम्भीर सुधारको आवश्यकता स्पष्ट पारेको छ। साथै, संविधान निर्माणका बेला तत्कालीन शक्ति–सन्तुलनका कारण फरक मतका रूपमा अघि सारिएका हाम्रा एजेन्डाहरूको औचित्य पनि यसले पुष्टि गरेको छ।’ प्रचण्डले भनेका छन्, ‘यो तरल राजनीतिक परिस्थितिमा अग्रगामी शक्तिहरूबीच आपसी समझदारी र राष्ट्रिय एकता आजको महत्वपूर्ण आवश्यकता बनेको छ। वर्तमान संकटको सकारात्मक निकासका लागि राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु हाम्रो साझा दायित्व हो।’
अहिले हामी जिम्मेवार ढंगले परिवर्तनको पक्षमा अघि बढ्नुपर्ने आवश्यकता रहेको उनको जोड छ। ‘देश र जनताप्रतिको जिम्मेवारीप्रति सचेत रहँदै नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सबल र दुर्बल पक्षहरूको समीक्षासहित सच्चिएर अघि बढ्ने प्रतिबद्धतालाई व्यवहारमा उतार्दै अघि बढिरहेको छ। यथास्थितिमा सीमित रहने सोच र परिवर्तनको चाहनाबीचको संघर्ष अझै जारी छ । अहिले हामी जिम्मेवार ढंगले परिवर्तनको पक्षमा अघि बढ्नुपर्ने आवश्यकता छ’शुभकामना सन्देशमा भनिएको छ।
कमजोरीहरू नदोहोरिने गरी लोकतन्त्र, सुशासन र जनउत्तरदायी राज्य व्यवस्था सुदृढ बनाउनु हाम्रो साझा लक्ष्य हुनुपर्ने उनको तर्क छ। उनले भनेका छन्,‘विगतका अनुभवहरूबाट हामीले महत्वपूर्ण पाठहरू सिकेका छौँ। अब ती कमजोरीहरू नदोहोरिने गरी लोकतन्त्र, सुशासन र जनउत्तरदायी राज्य व्यवस्था सुदृढ बनाउनु हाम्रो साझा लक्ष्य हुनुपर्छ। विचार, एजेन्डा र निरन्तर सक्रिय नेतृत्वका आधारमा नेपाली कम्युनिस्ट पार्टीले मात्रै अग्रगामी परिवर्तनमा प्रभावकारी नेतृत्वदायी भूमिका खेल्न सक्छ भन्ने मेरो दृढ विश्वास छ।’ संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ बनाउँदै सामाजिक न्याय, आर्थिक समृद्धि र युवा सशक्तीकरणलाई प्राथमिकतामा राखेर हामी समृद्धिसहित समाजवादको यात्रा तय गर्न सक्छौँ। नयाँ वर्षले हामी सबैलाई विगतका कमजोरीबाट पाठ सिकेर अझ मजबुत रूपमा अघि बढ्ने अवसर प्रदान गरोस्।’ प्रचण्डले सबै राजनीतिक शक्ति, युवा, नागरिक समाज र आम नेपाली जनताले हातेमालो गर्दै यो वर्षलाई आशा र परिवर्तनको वर्ष बनाउन आह्वान गरे।