— नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सामाजिक सञ्जाल र सहर बजारमा होहल्ला गर्ने, इतिहास र निष्ठाविहीनहरूले देश कब्जा गरिसकेको भन्दै भ्रम फैल्याएको टिप्पणी गरेका छन् ।
रुकुमपूर्वदेखि काठमाडौंसम्म यात्रामा आएका केशव रावलको सम्मानसहितको यात्रा समापन कार्यक्रममा बोल्दै उनले दशकौँको संघर्ष, त्याग र तपस्याबाट स्थापित पार्टीहरू अब आवश्यक छैनन् भन्ने भाष्य निर्माण गर्न खोजिएको बताएका हुन् । उनले सामाजिक सञ्जालमार्फत हल्ला गर्नेहरूलाई नै मुक्तिदाता जस्तो गरी प्रस्तुत गर्दा नागरिकमा भ्रम पार्न खोजिएको भए पनि वास्तविकता त्यस्तो नभएको दाबी ।
‘सामाजिक सञ्जाल हेर्यो भने, सहर बजारका मान्छेका होहल्ला हेर्यो भने त विचारविहीन, इतिहासविहीन, त्याग तपस्या बलिदान र निष्ठाविहीनहरूले नेपाल पूरै कब्जा गरिसके भनेजस्तो छ । पार्टीहरू त सिद्धिसके भन्ने छ,' उनले भने, 'जसले दशकौँ लडाइँ गरेर त्याग र तपस्या गरे, विचार र निष्ठाका कीर्तिमान राखेका छन् । तिनै बदमास र यिनको अब काम छैन भन्याजस्तो । सोसल मिडियाबाट होहल्ला गर्नेहरू नै मुक्तिदाता हुन् भनेर बजार र मोबाइल हेर्नेको हातहातमा त्यस्तै हो कि भन्ने भ्रम पर्ने गरेको छ ।'
उनले रावलको पैदल यात्राले पार्टीका नेता तथा कार्यकर्ताहरुमा समेत एकताको सन्देश प्रवाह भएको बताए ।