— नेपाल वायुसेवा निगम को 'लुम्बिनी' नामक न्यारोबडी विमान इन्जिन प्रतिस्थापनका लागि इजरायल पुगेको छ। उक्त विमान आइतबार राति काठमाडौंबाट नियमित उडानमार्फत दुबई पुगेको थियो भने सोमबार दिउँसो निगमका चालकदलले खाली उडानमार्फत इजरायल पुर्याएका हुन्।
निगम र इजरायलको सरकारी स्वामित्वको एयरोस्पेस कम्पनीबीच यसअघि नै न्यारोबडी विमानका इन्जिन मर्मत तथा प्रतिस्थापनसम्बन्धी सम्झौता भएको थियो। २०८० भदौमा भएको सम्झौताअनुसार निगमका दुई न्यारोबडी विमानका चारवटा इन्जिन मर्मत तथा प्रतिस्थापनको व्यवस्था गरिएको हो।
निगम र इजरायल एयरोस्पेस कम्पनीबीच हालै न्यारोबडी विमानको इन्जिन प्रतिस्थापन तथा विमान फिर्ता प्राप्तिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। सम्झौताअनुसार, इजरायल एयरोस्पेस कम्पनीसँग लिजमा रहेको पुरानो इन्जिन फिर्ता गरी नयाँ प्रतिस्थापन इन्जिन जडान गरिनेछ। इन्जिन प्रतिस्थापनको काम इजरायल एयरोस्पेस कम्पनीको बेडेक एमआरओ सेवा केन्द्रमा हुनेछ।
सम्झौताअनुसार, इन्जिन प्रतिस्थापन सम्पन्न भएपछि निगमले २७ लाख अमेरिकी डलर भुक्तानी गर्नुपर्नेछ। यो रकम निगमको लिज इन्जिनसम्बन्धी बक्यौता दायित्वको आंशिक सेटलमेन्टका रूपमा गणना गरिनेछ। इजरायल एयरोस्पेस कम्पनीले 'गुडविल जेस्चर' का रूपमा ८ लाख अमेरिकी डलर बराबरको छुट दिने सहमति जनाएको छ। तर यो सुविधा ३१ डिसेम्बर २०२५ भित्र २७ लाख डलर भुक्तानी गरेमा मात्र लागू हुनेछ। समयसीमा नाघेमा उक्त छुट स्वतः खारेज हुने सम्झौतामा उल्लेख छ।
कागजातअनुसार, ३० नोभेम्बर २०२५ सम्म निगमको कुल बक्यौता रकम ३५ लाख अमेरिकी डलर पुगेको छ । जसमा ढिलाइ शुल्क र ब्याज समावेश छैन। इन्जिन फिर्ता नहुँदासम्म थप बक्यौता थपिन सक्ने व्यवस्था पनि सम्झौतामा छ। यसैगरी, नयाँ प्रतिस्थापन इन्जिनका लागि निगमले ६.७९ मिलियन अमेरिकी डलर बराबरको लेटर अफ क्रेडिट (एलसी) पेस गरिसकेको छ । जुन हाल इजरायली कम्पनीले परीक्षण गरिरहेको जनाएको छ। इजरायली कम्पनीको विवरणअनुसार कुल दाबी रकम ८.४४ मिलियन डलर पुगेको छ।
पुरानो इन्जिनको मर्मतसम्बन्धी ३ लाख १२ हजार २८२ अमेरिकी डलरको अन्तिम बिल अझै बाँकी रहेको र उक्त रकम भुक्तानी नभएसम्म विमान रिलिज नहुने समझदारी पत्रमा उल्लेख छ। सबै वित्तीय दायित्व पूरा भएपछि मात्र विमान निगमलाई हस्तान्तरण गरिने सम्झौतामा स्पष्ट गरिएको छ।