: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरपश्चिमी नाइजेरियामा चरमपन्थी इस्लामिक (स्टेट आईएस) समूहविरुद्ध अमेरिकाले 'शक्तिशाली र घातक हमला'सुरु गरेको दाबी गरेका छन्।
आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसियल’ मा पोस्ट गर्दै ट्रम्पले आईएसलाई 'आतंकवादी फोहोर'को संज्ञा दिँदै उक्त समूहले 'मुख्यतः निर्दोष इसाइहरूलाई लक्षित गरी क्रूर रूपमा हत्या गर्दै आएको'आरोप लगाएका छन्।
उनका अनुसार अमेरिकी सेनाले आईएसविरुद्ध 'धेरै सटीक आक्रमणहरू' गरेको छ। तर आक्रमण कुन स्थानमा र कहिले गरिएको हो भन्ने विषयमा भने उनले कुनै स्पष्ट विवरण दिएका छैनन्।
यसअघि नोभेम्बरमा ट्रम्पले नाइजेरियामा सक्रिय इस्लामिक लडाकू समूहविरुद्ध कारबाहीका लागि अमेरिकी सेनालाई तयारी अवस्थामा रहन आदेश दिएका थिए। बिहीबार अबेर सार्वजनिक अर्को पोस्टमा उनले भनेका छन्,'मेरो नेतृत्वमा, हाम्रो देशले कट्टरपन्थी इस्लामिक आतंकवादलाई फस्टाउन दिने छैन।'
तर, ट्रम्पले नोभेम्बरमा दिएको चेतावनी कुन विशेष घटनासँग सम्बन्धित थियो भन्ने विषयमा भने खुलाएका छैनन्। पछिल्ला महिनाहरूमा नाइजेरियामा इसाइहरूविरुद्ध नरसंहार भइरहेको दाबी अमेरिकाका केही दक्षिणपन्थी समूहहरूमा व्यापक रूपमा फैलिएको छ।
यद्यपि,हिंसा निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूले नाइजेरियामा मुस्लिमहरू भन्दा इसाइहरू बढी मारिएको भन्ने दाबी पुष्टि हुने कुनै प्रमाण नभएको बताएका छन्। नाइजेरियाको जनसंख्या मुस्लिम र इसाइ समुदायबीच लगभग समानरूपमा विभाजित छ।