। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन अनिवार्य बनेको बताएका छन् । विशेष महाधिवेशन पक्षधरले पेश गरेको स्मरणपत्र बुझ्दै महामन्त्री थापाले विधान नमान्ने सुविधा कसैलाई नरहेको बताए ।
महाममन्त्री थापाले स्मरणपत्र कार्यसम्पादन समितिको बैठकमा जानकारी गराउने बताए । ‘पार्टीको विधानभन्दा माथि हामी कोही पनि छैनौं । विधान नमान्ने सुविधा कसैलाई पनि छैन,’ महामन्त्री थापाले भने ।
विधानको १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित हस्ताक्षर पेश गरेको तीन महिनाभित्र विशेष महाधिवेशन माग गर्नुपर्ने व्यवस्था छ । त्यही व्यवस्था अनुसार २९ असोजमा २४८८ प्रतिनिधिको हस्ताक्षर सहित कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गरेको प्रस्ताव पेश गरिएको थियो ।
केन्द्रीय कार्यालयमा महामन्त्रीद्धय थापा र विश्वप्रकाश शर्माले स्मरणपत्र बुझेका थिए । स्मरणपत्र बुझेपछि प्रतिक्रिया दिँदै महामन्त्री थापाले जारी कार्यसम्पादन समितिको बैठकमा यो विषयलाई जानकारी गराउने बताए ।
‘विशेष महाधिवेशन अब केन्द्रीय कार्यसमिति भित्रको अनिवार्य जिम्मेवारी भित्र पर्दछ । यो ऐच्छिक विषय रहेन । १५ औं महाधिवेशन भएको भए यो मागको आफैं सार्थकता सकिन्थ्यो,’ महामन्त्री थापाले विशेष महाधिवेशन मागकर्तालाई भने, ‘तपाईंको मागलाई सम्बोधन गर्नु अनिवार्य हुन्छ । यो अनिवार्य विषयमा केन्द्रीय समितिले कसरी काम गर्ने विषयलाई बैठकमा राख्छौं ।’
विशेष महाधिवेशन पक्षधरले नियमित महाधिवेशन भयो भने विशेषको माग स्वत: निष्क्रिय हुने बताएका थिए । विधानको कार्यान्वयन गर्नु दुई महामन्त्रीकै कर्तव्य हुने अर्का महामन्त्री शर्माले बताए । उनले भने, ‘यो मागमा कार्यसम्पादन समितिले उपयुक्त निर्णय गरेर अघि बढ्नुपर्दछ ।’