: खोटाङमा अपरिचित व्यक्तिहरूबाट हुने चोरी र लुटपाटका घटनामा सतर्क रहन सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लामा पछिल्लो समय अपरिचित व्यक्तिहरूको शंकास्पद गतिविधि बढ्दै गएको भन्दै सर्वसाधारण नागरिकलाई सतर्क रहन आग्रह गरेको हो।
खोटाङका विभिन्न पालिकाहरूका गाउँ–टोलमा जडिबुटी,धामी–झाँक्री,सरसामान बिक्री गर्ने तथा बास माग्ने बहानामा स्थानीयको घरमा प्रवेश गरी चोरी,लुटपाटजस्ता आपराधिक घटना हुन थालेको सूचनाका आधारमा सचेतना अपनाउन प्रहरीले अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डीएसपी प्रकाश बुढाथोकीले पछिल्ला दिनमा यस्ता घटनाको जोखिम बढेको भन्दै अपरिचित व्यक्तिलाई बास दिनुअघि अनिवार्य रूपमा परिचय खुल्ने कागजात जाँच गर्न अनुरोध गरेका छन् ।
अपरिचित व्यक्तिहरूलाई सहज रुपमा बास बस्न नदिन र बास दिनुपरेमा बस्नेहरू फोटो खिचेर राख्न र स्थानीय जनप्रतिनिधि,टोल समिति तथा प्रहरीलाई जानकारी गराएर मात्र सहयोग गर्न प्रहरीले नागरिकलाई अनुरोध गरेको छ ।
डीएसपी बुढाथोकीले स्थानीय होटल तथा लजहरूले पनि बास बस्न आउने व्यक्तिको नागरिकता वा परिचयपत्रको प्रतिलिपि,सम्पर्क नम्बर र नजिकका आफन्तको विवरण संकलन गरी मात्र दिन आग्रह गरेका छन् ।
उनले बास बस्न आउने व्यक्तिहरूले शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालिन नम्बर १०० मा तुरुन्त जानकारी गराउन प्रहरीले आग्रह गरेको छन् । प्रहरीले टोलको सुरक्षा बलियो बनाउन सामूहिक रूपमा सीसीटीभी जडानजस्ता उपाय अपनाउन पनि नागरिकलाई अनुरोध गरेको छ ।
गत भदौ २३ र २४ को आन्दोलनमा विभिन्न कारागारबाट भागेका कैदीहरू गाउँ टोलमा प्रवेश गरी अपराधिक घटना घटाउन सक्ने भएकाले सर्वसाधारण नागरिकलाई सचेत रहन प्रहरीले आग्रह गरेको छ ।