: कारोबारीसहित नवलपरासीबाट ठूलो परिमाणमा लागुऔषध बरामद भएको छ। भारतको सीमावर्ती नाकाबाट नवलपरासी भित्र्याउँदै गरेको अवस्थामा दुई नेपाली र भारतीय नागरिकसहित चार जना कारोबारीलाई समेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर सोमदास ढकालले जानकारी दिए।
उनीहरुसँगबाट विभिन्न नामका कुल ६ हजार २७२ एप्पुल लागुऔषध बरामद भएको हो। मोटसाइकलबाट लागुऔषध लैजादै गरेको अवस्थामा पक्राउ पर्नेमा नवलपरासी पाल्हीनन्दन गाउँपालिका–६ पडरीका ३० वर्षीय शहरेदिन अन्सारी जोलाहा र सोही ठाउँका १९ वर्षीय कृष्णकुमार चौधरी रहेका छन्। नेपाली मोटरसाइकलको नम्बर प्लेटबाट जाँदै गरेका उनीहरुलाई रामग्राम नगरपालिकाको पचगावा गाउँबाट पक्राउ गरिएको हो।
त्यसैगरी सूचनाका आधारमा प्रहरीले उनीहरुकै गिरोहमध्येका दुई जना भारतीय नागरिकसमेत पक्राउ परेका छन्। उनीहरुलाई भारतीय मोटरसाइकलबाट परासीतर्फ लागुऔषध लैजाँदै गरेको अवस्थामा पाल्हीनन्दन गाउँपालिका–४ लोकपुरवाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भारत महाराजगञ्ज जिल्ला ठूठीबारी बस्ने २४ वर्षीय रविन सुल र सोही ठाउँका २७ वर्षीय इरसाद अलि छन्। सोधपुछका क्रममा प्रहरीले पक्राउ परेका शहरेदिन अन्सारीको घरमा पुगेर खानतलासी गर्दा त्यहाँबाट समेत १ हजार ३३९ एम्पुल लागुऔषध बरामद भएको ढकालले जानकारी दिए। पक्राउ परेका उनीहरूलाई मंगलबार लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी कारबाही प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ।