— टिकटकको प्यारेन्ट कम्पनी एवं चिनियाँ स्वामित्वमा रहेको बाइटडान्सले टिकटकको अमेरिकी सञ्चालन ओर्याकललगायत अमेरिकी कम्पनीसँग साझेदारी गर्ने घोषणा गरे पनि कतिपय विषय अनुत्तरित छन् । मुख्य कुरा, टिकटकको सबैभन्दा महत्त्वपूर्ण पक्ष मानिने यसको अल्गोरिदम कसको नियन्त्रणमा रहने भन्ने विषय अझै स्पष्ट भएको छैन ।
निकै शक्तिशाली मानिने टिकटकको अल्गोरिदमले प्रयोगकर्ताको रुचि र स्वभावअनुसार भिडियो सिफारिस गर्ने काम गर्छ । यसले गर्दा नै प्रयोगकर्ताहरू लामो समयसम्म टिकटकमै अडिएर एकपछि अर्को भिडियो हेर्ने र स्क्रोल गर्ने गरिरहन्छन् ।
केही महिनाअघिसम्म बाइटडान्सले आफ्नो विशेष अल्गोरिदम हस्तान्तरण गर्नुभन्दा अमेरिकामा एप नै बन्द गर्ने तयारी गरेको खबरसमेत आएको थियो । साथै, यो सम्झौता अगाडि बढ्न चिनियाँ सरकारको आधिकारिक स्वीकृति आवश्यक छ र त्यो अझै प्राप्त भइसकेको छैन ।
मेटाले आफ्ना प्रयोगकर्ताबीचको सम्बन्ध अर्थात ‘सोसल ग्राफ’ का आधारमा अल्गोरिदम चलाउँछ भने टिकटकले प्रयोगकर्ताको रुचि, स्वभाव र व्यवहार नै बुझ्ने प्रविधि प्रयोग गरेर कुन सामग्री कसलाई देखाउने भन्ने निर्णय गर्छ ।
कतिसम्म भने एउटै प्रयोगकर्ताले दिनको फरक-फरक समयमा के हेर्न मन पराउँछ भन्ने बुझेर टिकटकले सोहीअनुरूप कन्टेन्ट प्रस्तुत गर्ने प्रयास गर्छ । सुरुदेखि नै मोबाइलका लागि बनाइएको प्लाटफर्म भएकाले टिकटकले यस क्षेत्रमा मेटाभन्दा केही अग्रता हासिल गरेको प्रविधि विज्ञहरू बताउँछन् । त्यसकारण टिकटकको कन्टेन्ट रिकमेन्डेसन अल्गोरिदमलाई शक्तिशाली र खास मान्ने गरिन्छ ।
Hardik IVF
Laxmi Sunrise bank
गत बिहीबार (डिसेम्बर १८) मा टिकटकका प्रमुख कार्यकारी अधिकृत सोउ जी चिउले ओर्याकल, सिल्भर लेक र एमजीएक्सलाई ५० प्रतिशत सेयर बिक्री गरेको औपचारिक जानकारी दिएका थिए । योसँगै अब टिकटकको अमेरिका सञ्चालनमा बाइटडान्सको स्वामित्व १९.९ प्रतिशत र बाँकी ३० प्रतिशत विद्यमान ग्लोबल तथा अमेरिकी लगानीकर्ताको हुनेछ । कारोबार प्रक्रिया पूरा भएमा ‘टिकटक यूएसडीएस ज्वइन्ट भेन्चर एलएलसी’ नामक नयाँ व्यवस्थापन इकाइमार्फत कम्पनी अघि बढ्ने अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् ।
टिकटक र बाइटडान्समार्फत करिब १७ करोड अमेरिका प्रयोगकर्ताको व्यक्तीगत विवरण (डेटा) चिनियाँ सरकारको पहुँचमा पुग्ने र चिनियाँ कम्युनिस्ट पार्टीले एपको अल्गोरिदममार्फत अमेरिकी जनताको धारणा भाँड्न वा प्रोपोगान्डा फैलाउन सक्ने भन्दै अमेरिकी सरकारले टिकटकलाई राष्ट्रिय सुरक्षासँग जोडेर हेर्ने गरेको छ ।
यसैअनुरूप तत्कालीन जो बाइडेन प्रशासनले गत वर्ष कानुन नै बनाएर कि त बाइटडान्सले टिकटकको अधिकांश अमेरिकी स्वामित्व अमेरिकी लगानीकर्तालाई बेच्नुपर्ने नभए अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । बाइटडान्सले टिकटक बेच्न नमानेपछि जनवरी १८ र १९ मा कयौँ घण्टा अमेरिकामा टिकटक चलेन । एप्पल र गुगलले अमेरिकी एप स्टोरबाट टिकटक हटाइदिए ।
राष्ट्रपतिका रूपमा ट्रम्प दोस्रो पटक निर्वाचित भएर आएपछि उनले आफ्नो पहिलो कार्यकारी आदेशमा टिकटकको प्रतिबन्ध हटाउने घोषणा गरे । उनले ट्रुथ सोसलमा पोस्ट गर्दै टिकटकलाई बचाउने बताए । आफ्नो अघिल्लो कार्यकालमा भने ट्रम्प टिकटकप्रति खुसी थिएनन् । दोस्रो पटक राष्ट्रपति बनेपछि उनले प्रतिबन्ध लागू हुन ७५ दिन (अप्रिल ४ सम्म) र त्यसपछि पुन: जुन १९, सेप्टेम्बर १६ र डिसेम्बर १६ सम्मको समयसीमा थप्दै आएका थिए ।
यसबीच ट्रम्पले टिकटक खरिद-बिक्री सम्झौता टुंगो लगाउन उपराष्ट्रपति जेडी भान्स, अर्बपति इलन मस्क र राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्जलाई जिम्मेवारी दिए । प्राविधिक र वित्तीय संरचनामा सम्भावित खरिदकर्तासँग वार्ता एवं सांसदहरूलाई मनाउने काम भान्सले गरे । उनैले टिकटकको अमेरिकी सञ्चालनको बजार मूल्यांकन १४ अर्ब डलर भएको घोषणा गरेका थिए । टेस्लाका कारण राम्रो व्यावसायिक सम्बन्ध भएका मस्कले चीन सरकारसँग मध्यस्थताको भूमिका निर्वाह गर्नुका साथै अल्गोरिदमजस्ता प्राविधिक पक्षमा ट्रम्प प्रशासनलाई सल्लाह दिए । वाल्जलाई भने ट्रम्पले यस सम्झौताको ‘जोखिम मूल्यांकन’ गर्न खटाएका थिए ।
राष्ट्रपति बाइडेनको कार्यकालमा राष्ट्रिय सुरक्षा परिषद्मा काम गरेका रश दोशीले सामाजिक सञ्जाल एक्समा लेख्दै अल्गोरिदम हस्तान्तरण भएको हो कि लाइसेन्स मात्र दिइएको हो वा एपको अल्गोरदिम अझै पनि बेइजिङकै नियन्त्रणमा छ भन्ने कुरा स्पष्ट नभएको बताएका छन् । उनका अनुसार ओर्याकलको पहुँच बाह्य प्रणालीमा मात्रै सीमित देखिन्छ ।
चीन सरकारले यस सम्झौताबारे अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन । सन् २०२० मा बेइजिङले निर्यातसम्बन्धी कानुन संशोधन गर्दै अल्गोरिदम र सोर्सकोड निर्यात गर्न सरकारी स्विकृत अनिवार्य हुने व्यवस्था गरेको थियो । यस प्रावधानका कारण टिकटकको अमेरिकी सञ्चालन बेच्ने वा अलग्गै कम्पनी बनाउने प्रयास के हुन्छ भन्ने टुंगो लागेको छैन ।